
एजेन्सी – घरेलु टोली आयरल्यान्डले दोस्रो टि२० आई खेलमा अफगानिस्तानमाथि ५ विकेटको जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा आयरल्यान्डले लगतार दोस्रो जितका साथ २–० को अग्रता लिएको छ ।
जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा कप्तान एन्ड्रीयु बलबर्नीले ३६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।
लोर्कन टकरले २७, पउल स्टर्लिङले ४, ह्यारी टेक्टर ५ र जर्ज डोकरेलले २५ रन बनाए । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक दुई विकेट लिए । राशिद खान भने ४ ओभरमा २७ रन खर्चिदै लगातार विकेटविहीन वने ।
त्यसअघि सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । अफगानिस्तानका हशमतुल्लाह शाहिदीले ४२ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए । इब्राहिम जद्रान १७, अजमतुल्लाह ओमरजाई ११ र नविन उल हक १० रनमा आउट भए ।
आयरल्यान्डका जोश लिटिल, मार्क आदिर, कर्टिन क्याम्फर र ग्यारेथ डेलानीले दुई दुई विकेट लिए । पहिलो खेलमा आयरल्यान्ड ७ विकेटले पराजित भएको थियो । तेस्रो खेल आज राती हुनेछ ।हाम्रो खेलकुदबाट ।



