
जी एन शर्मा
विश्वप्रकाश शर्मा मलाई मन पर्ने मान्छे हुन् । जब कुनै वस्तु वा चिजलाई मनले नियाल्ने गर्छ त्यो बेला त्यो वस्तु वा चिज टाढा वा नजिक के गर्ने त्यो मनकै कुरा हो । मेरो मनले पर्गेल्ने क्रममा विश्वप्रकाश शर्मा मनले मन पराएको एउटा मान्छे । व्यक्तिगत रुपमा मलाई सरल र सहज लाग्छ उनी । मलाई राम्रो थाहा छ उनी ‘काँग्रेस हुन्’ पक्को काँग्रेस भएर नै उनी काँग्रेसका महामन्त्री पनि बनेकाछन् ।उनले बोकेको विचारसँग म सहमत नहुन पनि सक्छु तर उनको व्यवहार जो छ मलाई मन पर्छ अर्थात मेरो मनले विश्वप्रकाशलाई मन पराउँछ । मंसीर ४ अर्थात प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति । फेरि एक पटक विश्वप्रकाशको चर्चा झापा क्षेत्र नं १मा प्रतिनिधि सभाका लागि चर्चीत भएको छ यसर्थ कि यसपटक उनको तेस्रो ट्रायल यो आफै उनले भनेकाछन् र पास गर्छु पनि भनेकाछन् । झापा क्षेत्र नं १ बाट जनप्रतिनिधि बन्ने उनका दुई ट्रायल असफल भए र यो तेस्रो ट्रायलमा उनी आफैले पास गर्छु भनेर झापामै आएर घोषणा गरेकाछन् । मलाई लाग्छ विश्वप्रकाश शर्मा प्रतिनिधि सभाका लागि उपयुक्त मान्छे थिए र हुन् पनि तर किन हो उनले दुई ट्रायलमा हरियो झण्डा पाएनन् ।र, यस पटक हरियो झण्डा पाउने बलियो अपेक्षाले ट्रायल पास गरेर जनलाईसेन्स पाउँछु भनेर घोषणा गरेकाछन् ।तर, यो ट्रायल पनि उनका लागि निक्कै मेहनत गर्नु पर्ने देखिन्छ । भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा ईन्द्रबहादुर बुढाथोकीले ‘पास’गर्छन् भन्ने होप थियो तर उनले पनि रातो झण्डाकै सामना गर्नु प¥यो । बजार राजनीतिमा सुने अनुसार पहिला त आफ्नै साथीहरुबाटै उल्टी चुँ कुदाईएको हो भन्ने हल्ला छ । जनअनुमोदित बन्छु र जनलाईसेन्स पाउँछु भनेर करिबकरिब ढुक्क भएका बुढाथोकीले नगरनिर्वाचनमा ‘ट्रायल फेल’को सामना गर्नु परेको भर्खरै हो । आफै भित्रको कित्ताकाट मानसिकताबाट चङ्गा बन्न सकिएन भने भोलीका दिन भरोसा कतै निराशामा रुपान्तरण त हुदैन ? अविरल बगेको नदिले आफ्नो गतिलाई निरन्तरता त दिन्छ नै तर त्यही नदीमा बाँचेकाहरुले नदी चिन्न छाडे भने कसो समस्या न आउला त ? आज फेरि विश्वप्रकाशले ‘तेस्रो ट्रायल’को संकल्प गरिरहदा सहजै ट्रायल पास गर्न के कुरा समस्या हुन सक्ला र यसको यथोचित निरुपण के होला भनेर बेलैमा सोच्न पनि आवाश्यक हुन्छ कि ?विश्वप्रकाश शर्मासँग मेरो वैचारिक असहमति छ भनेर भन्न मैले लजाउनु र धकाउनु छैन तर विश्वप्रकाश शर्मा मलाई मन पर्ने मान्छे हो भनेर भन्न पनि मैले किन आईतवार पर्खने ?



