खेलकुद

भलिबल संघको अध्यक्षमा मास्के र चन्दबीच प्रतिस्पर्धा हुने!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना बढेको छ । जितेन्द्र बहादुर चन्दले उम्मेदवारी दिने भएपछि अध्यक्ष पदमा निर्वाचन हुने भएको हो ।

वर्तमान कार्यसमितिमा महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताए । संघको साधारण सभा भदौ २२ गते हुँदैछ । उपाध्यक्ष निरोज मास्केले यसअघि नै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेकी छन् । पूर्व खेलाडी समेत रहेका चन्दले प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गर्ने जानकारी दिए ।

महासचिवका रुपमा चन्दको यो दोस्रो कार्यकाल हो । मास्के सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्ष निर्वाचित भएकी थिइन् । चन्द एभिसी सेन्ट्रल जोनका कोषाध्यक्ष हुन् । उनलाई वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माको साथ रहेको विश्वास गरिएको छ ।
उता मास्केको उम्मेदवारी घोषणामा पूर्व अध्यक्षद्वय गंगाबहादुर थापा र दानबहादुर तामाङले साथ रहने बताएका थिए ।

औपचारिक रुपमा प्यानलको घोषणा नगरेपनि मास्के र चन्द दुवै प्यानलसहित निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको भलिबल वृतमा चर्चा छ । महासचिव पदका लागि सचिव मनवीर छन्त्यालले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य पदमा भने अहिले सम्म उम्मेदवारी सर्वजनिक भएको छैन। उनी मास्के निकट मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button