मूल खबर

धनकुटामा नेकपा माओवादी केन्द्रका सबै नेताहरुले दिए सामूहिक राजीनामा

झिल्को डटकम
काठमाडौं । धनकुटाका नेकपा माओवादी केन्द्रका सबै नेताहरुले सामूहिक राजीनामा दिएका छन्। जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राईले विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको बताएका हुन्।

असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लास्थित पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबैले राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ। माओवादीबाट सामूहिक राजीनामा दिएपछि हेमराज भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियान घोषणा गरेर चुनाव लड्ने सहमति समेत गरेका छन्। भण्डारी २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्य निर्वाचित भएका थिए।

पोलिटब्युरो सदस्य भण्डारीसहित केन्द्रिय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र र जिल्ला सदस्य १ सय ५० जनाले सामुहिक राजीनामा दिएका हुन्।

भण्डारी मंसिर ४ गते हुने निर्वाचनमा संघमा आकांक्षी रहेको भएपनि गठबन्धनबाट तथा पार्टीबाट टिकट पाउने सम्भावना नभएपछि राजीनामा दिएका हुन्। पत्रकार सम्मेलनमा भण्डारीले ११ दिन अगाडि पार्टी अध्यक्ष प्रचण्डसँग राजीनामा दिएर आएको र जिल्लामा सल्लाह गर्दा जिल्लाले सहयोग गरेको बताए।

‘पार्टीमा काम गर्ने धेरै कार्यकर्तामा निराशा छाएको छ। पार्टीमा न्याय र विधि पनि अत्यन्त न्युन हुँदै गएको छ। परिर्वतनका लागि लडेका साथीहरुको पनि भावनामा ठेस लागेको छ,’ भण्डारीले भने।

प्रदेश सभाको लागि स्वतन्त्र उम्मेदवार तय गरिने बताए। भण्डारीले जनताको प्रत्येक घरघरमा राष्ट्रिय झण्डा गाड्ने उनको भनाइ छ। प्रचण्डलाई बुझाएको राजीनामा राजनैतिक र वैचारिक असहमतिको कारण राजीनामा दिएको उल्लेख छ।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधार सहित प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारको रुपमा धनकुटेली जनतामा जाने हेमराज भण्डारीको प्रस्तावलाई पुर्ण रुपमा समर्थन गर्दै उहाँको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरि निर्वाचनमा सहभागी हुने निर्णय सार्वजनिक गर्न यस प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौं।’​

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button