खेलकुद

हालान्डलाई बेन्चमै राख्दा सिटीले गोल गर्न सकेन

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह जी को खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । एफसी कोपेनहेगनको मैदानमा भएको खेलमा सिटी पहिलो हाफमै १० खेलाडीमा सिमित हुँदा खेल गोलरहित बराबरीमा सकिएको हो ।

युवा फरवार्ड एर्लिङ हालान्डलाई बेन्चमा राखेको खेलमा सिटीले बल पोसेसनमा पकड राख्दै अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। सुरुवाती ३० मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रीका कारण खेलमा निकै विवाद सिर्जना भएको थियो ।

११ औं मिनेटमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपनि भीएआरले उक्त गोललाई मान्यता दिएन । गोल हुनभन्दा केहि समय अघि रियाद माहरेजको हातमा बलले लागेको भन्दै रेफ्रीले गोल खारेज गरे ।

२५ औं मिनेटमा सिटीले पेनाल्टी पायो । तर माहरेजको प्रहार कोपेनहेगनका गोलरक्षक ग्रबराले बचाए । ३० औं मिनेटमा विपक्षी खेलाडीलाई गोल गर्ने अवसरबाट हातले तान्दै रोकेपछि रेफ्रीले सिटीका डिफेन्डर सर्जी गोमेजलाई रातो कार्ड दिए ।

यस बराबरीका बाबजुद सिटीको ४ खेलमा १० अंक छ । टोली अझै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सिटीले यसअघि भने तीनै खेलमा जित हासिल गरेको थियो ।

प्रशिक्षक पेप गुआर्डीओलाले हालान्डलाई सुरुवाती ११ मा राखेका थिएनन् । उनले अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजलाई अवसर दिए । सिटीले पटक पटक अवसर सदुपयोग गर्न नसकेपनि हालान्डले मैदान छिर्ने अवसर पाएनन् । उनले दोस्रो हाफमा वार्म अप गरेपनि मैदानभित्र छिरेर खेल्न पाएनन् ।

च्याम्पियन्स लिग अन्तर्गत यसअघि ३ खेलमा ५ गोल गरेका हालान्ड पछिल्लो खेलमा पनि हाफ टाइममा परिवर्तन भएका थिए । हालान्डले च्याम्पियन्स लिगको पहिलो खेलमा सेभियाविरुद्ध ४-० को जितमा दुई गोल गरेका थिए । त्यसपछि आफ्नै पूर्व क्लब बोरुसिया डर्टमुन्डविरुद्ध २-१ को जितमा पनि उनले गोल गरे । पछिल्लो खेलमा कोपेनहेगनविरुद्ध पहिलो हाफ मात्र खेलेका हालान्डले ५-० को जितमा २ गोल गरेका थिए ।हाम्रो खेलकुदबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button