चौतारी संवाद

‘ प्रलोभनले लोभ्याएर होइन भोलीका दिनमा काम गरेर देखाउँछु ’—गोपाल तामाङ्ग

मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनकातर्फबाट झापाको क्षेत्र नं १ को ‘क’बाट प्रदेशसभा सदस्यका उम्मेद्वार गोपाल तामाङ्गसँग चौतारी पोष्ट अनलाइनका सम्पादकले गरेको संक्षिप्त चुनावी वार्ता ।
प्रश्न— मतदातासँग मत माग्दै गर्दा मिठाकुराहरुको कोसेली पनि लिएर जानु भएको होला है ?
उत्तर— छैन फिटिक्कै छैन, विगतमा वितरण गरिएका आश्वासनका पोकादेखि मतदाता वाक्क बन्नु भएको रहेछ, तँ पनि त उस्तै त होलास भन्नु हुन्छ । हो पनि हिजोका दिनमा प्रलोभनका पोकाहरु बाँडेर मत पाउनेहरुले बिर्सेको कुरालाई उहाँहरुले हामीसँग गुनासो गर्नु स्वभाविक नै हो ।तर, मैले जे गर्न सक्छु र जे गर्ने हो त्यही मात्र भनेको छु एकपटक मलाई पनि हेरदिनु भनेको छु । भोली गर्ने र गर्न सक्ने काम मात्र भन्दै मतदाताहरुसँग मत मागेको छु । ठूला र नहुने सपना कसैलाई बाँडेको पनि छैन र त्यसो गर्नु राजनीतिक बेइमानी पनि हो । अक्सर निर्वाचनका बेलामा उम्मेद्वारहरुले सपनाको खेती पनि गर्ने गर्छन् तर मतदातासँग झुठ बोलेर उनीहरुको प्रतिनिधि बन्नु आफैमा लज्जाको विषय पनि त होला नि ।
प्रश्न— मतदाताको प्रतिकृया कस्तो पाउनु भएको छ ?
उत्तर—तपाईँको प्रश्न जस्तै । चुनावका बेलामा घरमै सबै थोक ल्याईदिने जस्तो कुरा गर्ने अनि जितेपछि वा पराजयपछि जनताको आँगन नटेकेका प्राय सबैका गुनासा यस्तै छन् ।तर, मेरो विषयमा मैले सबैसँग प्रष्ट कुरा राखेको छु । एकपटक मलाई पनि हेर्नुहोस भनेको छु , आजकै जस्तो भोली पाउनु हुनेछ भनको छु । मलाई विश्वास पनि छ उहाँहरुले जनसेवा गर्ने मेरो चाहानालाई साथ दिनु हुने छ ।
प्रश्न—गठबन्धनकोतर्फबाट उम्मेद्वार बन्नु भएको छ कस्तो लाग्छ आफैलाई ?
उत्तर—यो गठबन्धन गणतन्त्रको पक्षको हो, यो गठबन्धन जनअधिकारको रक्षाका लागि हो यो गठबन्धन विकासका लागि अर्थात यो गठबन्धन जनताको पक्षको हो ।
मलाई विश्वास छु रगतसँग साटिएको गणतन्त्रको रक्षाका लागि यहाँ मात्रै होइन देशभरिकै मतदाताले गठबन्धनका उम्मेद्वारहरुलाई साथ दिनु हुनेछ ।
प्रश्न— जित्छु भन्ने लागेको छ ?
उत्तर—निर्वाचनको मैदानमा आएको उम्मेद्वारका नाताले जो कसैले पनि जित्छु भन्छ नै त्यस माथि पनि आम जनताको साथ र सहयोग पाउने पुरा विश्वास भएको उम्मेद्वारले जित्छु मात्र होइन मलाई यहाँका आम मतदाताले नै जिताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button