खबर

म्यानमारका रोहिङ्ग्यालाई नेपाली नागरिकता

काठमाडौँ । म्यानमारबाट आप्रवासीका रूपमा नेपालको शरण लिन आएका रोहिङ्ग्या युवकले नेपालमा झुटा विवरण पेस गरी नागरिकता र राहदानीसमेत लिएको पाइएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा काठमाडौँको कलङ्कीस्थित खसीबजारबाट म्यानमारका नागरिक ३९ वर्षीय मोहमद नुर आलमलाई पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले झुटा विवरण पेस गरी नागरिकता लिएकोबारे अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो।

कोइरालाका अनुसार पक्राउ परेका आलमले सन् २०१२ मा बङ्गलादेश हुँदै नेपाल आएको बयान दिएका छन्। नेपाल आएपछि सर्लाहीबाट उनले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको प्रहरीसँगको बयानमा स्वीकारेका छन्।

प्रहरीले झुटा विवरण पेस गरी नागरिकता दिन सिफारिस गर्ने र नागरिकता दिने अधिकारीबारे अनुसन्धान हुँदै गरेको जनाएको छ। प्रहरीले पक्राउ परेका आलमको साथबाट बरामद गरेको नागरिकताको बाबुको नाम एमडी नुर आलम र स्थायी ठेगाना त्रिभुवननगर–१ सर्लाही उल्लेख रहेको जनाएको छ।

एमडी नुर आलमको नामको राहदानी र मोहमद नुर आलम नामको नागरिकता फेलापारी प्रारम्भिक सोधपुछ गर्दा मोहम्मदले आफू म्यानमार देशको नागरिक रहेको बताएका थिए।

म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आएपछि त्रिभुवननगर–१ सर्लाहीमा रहेको मदरसामा पढाउँदै आएका थिए।

सोहीक्रममा उनले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको र सोही नागरिकताका आधारमा राहदानी विभाग काठमाडौँबाट राहदानीसमेत प्राप्त गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button