कला

‘हाम्रो शान, हाम्रो मान र हाम्रो पहिचान’

यलु जोशी
काठमाडौँ ।

मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो

कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने…

गोपाल योञ्जनको यो गीतले भनेझैँ टोपी पहिरिएपछि छाती चौडा भएको अनुभूति हुन्छ। टोपी सौन्दर्यको साधन मात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरवको महसुस हुने गरेको छ।

आज नेपालीहरू अङ्ग्रेजी नयाँ वर्ष मनाउनुका साथै अन्तर्राष्ट्रिय टोपी दिवस मनाउँदै छन्। सामाजिक सञ्जालमा टोपी लगाएका फोटा राख्न होस् वा -यालिमा सहभागी जनाउन होस्। देश तथा विदेशका नेपालीले अङ्ग्रेजी नयाँ वर्षमा टोपी लगाएर टोपी दिवस मनाएका छन्।

‘हाम्रो शान, हाम्रो मान र हाम्रो पहिचान’ भन्ने नाराका साथ आइतबार दसौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ। विश्वव्यापीकरणको प्रभावले अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै सन् २०१४ देखि केही युवाले नेपाली मौलिक पोसाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरु गरेका हुन्। स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरूले संयुक्त रूपमा टोपी दिवसको कार्यक्रम आयोजना गर्ने गरेका हुन्।

अङ्ग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने उद्देश्यले टोपी दिवसको सुरुवात भएको अभियानमा रहनुभएका धनश्याम श्रेष्ठले जानकारी दिनुभयो। पाश्चात्य संस्कृतिले मुलुकलाई गाँजिरहेको र नेपाली मौलिक पहिरन गुमिरहेका बेला ढाका टोपीको संरक्षण गर्ने उद्देश्यले ‘जागरुक युवा अभियान नेपाल’ हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा यस्तो कार्यक्रम गर्दै आएको छ।

वरिष्ठ गायक शम्भुजित बास्कोटाले सामाजिक सञ्जालमा टोपी लगाएको फोटो राख्दै टोपी दिवसको शुभकामना दिनुभएको छ। उहाँले टोपी लगाएपछि म नेपाली हुँ भन्ने गौरव लाग्ने बताउनुभयो।

अभियन्ता तुलसा कार्की भन्नुहुन्छ, “टोपी लगाएर कुनै व्यक्तिलाई सामान्यतः कुनै हानि हुन्छ जस्तो मलाई लाग्दैन। यस दृष्टिले टोपी लगाउनु कुनै ठूलो कुरो होइन। कार्कीले सके सधैँ नेपाली टोपी लगाउँ नसके एक दिन भए पनि लगाएर यसको सम्मान गरौँ।”

“हिमाली, पहाडी र तराई क्षेत्रमा विभिन्नखाले टोपी लगाएर यो दिवस मनाउने हो, यो ढाका टोपी दिवस होइन भन्ने सन्देश प्रवाह गर्दै टोपी दिवसको सान्दर्भिकता बुझाउन भने अभियन्तालाई हम्मेहम्मे परेको छ।

टोपीको प्रचलन कसरी ?

हाम्रो योगशास्त्रअनुसार हाम्रो शरीरका सबै अङ्गको उत्तिकै महत्व हुन्छ। त्यसमा पनि शिरको सबैभन्दा ठूलो महत्व छ। शिरको मध्यभागलाई मानव शरीरको केन्द्र मानिएको छ। त्यसैले आदिमकालदेखि नै यसलाई विशेष सुरक्षा दिनुपर्छ भन्ने मान्यता रहँदै आएको छ। आर्य समुदायमा केश खौरिएपछि शिरको सुरक्षाका लागि कपडाले बेर्ने चलन थियो। पछि त्यही कपडालाई विशेष आकार दिइयो, जसलाई हामी टोपी भन्छौँ। कालान्तरमा टोपी लगाउने चलन बढ्दै गयो।

नेपालमा पहिरनलाई हावापानी अनुकूल हुने गरी विकास गरिएको छ। चिसोबाट जोगिन पनि टोपी लगाउने चलनको विकास भयो। कालान्तरमा आधुनिक राज्यको स्थापना भएपछि धर्म, संस्कृति एवं भूगोललाई आधार मानेर हाम्रो देशको राष्ट्रिय पोसाक छनोट गरियो, जसमा नेपालको सबैभन्दा अग्लो भनेको हिमाल हो, त्यही हिमालको प्रतीकका रूपमा टोपीलाई पनि राष्ट्रिय पोसाक मानियो। जसरी हिमाल हाम्रो गौरव हो, त्यसैगरी टोपी पनि हाम्रो आत्मसम्मानसँग जोडिएको छ।

कसैसँग आत्मसम्मानमा आँच आउने कुरा गर्नुपर्ने अवस्था आयो भने टोपी खोलेर कुरा गर्छौं जसको अर्थ हाम्रा लागि टोपी हाम्रो आत्मसम्मानभन्दा ठूलो छ भन्ने नै हो। टोपी लगाउँदा वा फुकाल्दा हामी दुई हात प्रयोग गर्छौं, यसको कारण एक हातले टोपी फुकाल्न नसकिने भएर होइन, यो टोपीप्रतिको सम्मान हो। फुकालेर राख्दा पनि हामी टोपीलाई उच्च ठाउँमा सिउरेर राख्छौँ। हाम्रो टोपी कति सहज छ भने यसलाई जुनसुकै मौसममा पनि सजिलै लगाउन सकिन्छ।

नेपालमा मात्र नभएर देश विदेशमा रहेका नेपालीले पनि जनवरी १ मा ढाका टोपी लगाएर ‘अन्तर्राष्ट्रिय टोपी दिवस’ मनाउने गरेको पाइन्छ।गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button