गोरखापत्र अनलाइन
काठमाडौँ। डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न सहमत भएका हुन् ।
डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपियाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेको थियो । तर, उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मङ्गलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो ।
मूल्य वृद्धि गर्ने आवश्यकताको अध्ययन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवको नेतृत्वमा कार्यदलसमेत गठन गरिएको छ। सो कार्यदलले देशैभर अध्ययन गरेर दूधको मूल्य वृद्धि सम्बन्धमा प्रतिवेदन बुझाएपछि थप निर्णय लिने डेरी उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अरनिको राजभण्डारीले बताउनुभयो । दूधको मूल्य बढाउने सम्बन्धमा वैज्ञानिक रूपमा अध्ययन गरेर गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
बोर्डका निर्देशक यादवका अनुसार उद्योगीहरूले गरेको मूल्य वृद्धि राष्ट्रिय दूध विकास नीति २०७८ र राष्ट्रिय दूध विकास ऐनविपरीत थियो । त्यसै विषयमा उद्योगीसँग भएको छलफलका आधारमा मूल्य वृद्धि फिर्ता भएको उहाँले जानकारी दिनुभयो । “उपभोक्ता, किसान र उद्योगी सबैको आवश्यकता हेरेर मात्र दूधको मूल्य वृद्धिको निर्णय हुन्छ,” उहाँले भन्नुभयो । त्यसैका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको उहाँले बताउनुभयो ।
निजी डेरीबाट उत्पादित ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएमएफको आधारमा दूधको मूल्य वृद्धि गरिएको थियो । सरकारले गत वर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रुपियाँ ४ पैसा समर्थन मूल्य तोकेको थियो । तर, उद्योगीहरूले सो मूल्यलाई मान्यता नदिई आफ्नै तरिकाले मूल्यमा वृद्धि गरेका थिए । त्यसबेला सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन । यस पटक सरकारसँग कुनै समन्वय नै नगरी दूधको मूल्यमा वृद्धि गरेपछि सरकारले मूल्य वृद्धि फिर्ता लिन लगाएको हो ।



