मूल खबर

अवतरण गर्नै लाग्दा सेतीखोंचमा खस्यो जहाज: आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठुलो दुर्घटना

सन्तोष पोखरेल र सन्देश श्रेष्ठ
पोखरा
पोखराले झन्डै पाँच दशकअघि देखेको सपना १५ दिनअघि (२०२३ जनवरी १) का दिन पूरा भयो। त्यस दिन पोखरेलीको सपना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो। पुरानो विमानस्थलबाट भइरहेको हवाई उद्घाटनकै दिनदेखि अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको थियो। लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय विमानस्थल पाएकोमा पोखराले खुसी मनाइरहँदा आइतबार बिहान त्यही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हवाईजहाज दुर्घटना भयो।

बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको जहाज १० बजेर ५८ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर अवतरणका लागि अन्तिम तयारी गर्दैगर्दा जहाज एकाएक पोखरा महानगरपालिका–७ र १५ को बीचमा पर्ने मितेरी पुलनजिकै सेतीखोंचमा खस्यो।

काठमाडौं–पोखरा हवाई दुरी २५ मिनेट हो। तर अन्तिम मिनेटमा जहाज दुर्घटनामा पर्‍यो। ‘दुर्घटनामा नपरेको भए १० सेकेन्डमा जहाजले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग टेक्थ्यो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले भने, ‘अन्तिम १० सेकेन्ड मात्र जोगाउन नसक्दा दुर्घटना भयो। पोखराको मौसम सफा थियो। तर एकाएक जहाज खोंचमा खस्यो।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ किलोमिटरको दुरीमा जहाज सेतीनदीको खोंचमा खसेको थियो।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार प्रशिक्षक पाइलट कमल केसीको कमान्डमा जहाज उडेको थियो। को–पाइलट अञ्जु खतिवडा थिइन्। त्यस्तै एयरहोस्टेजमा सिर्जना हुङचुङ र ओसिन आलेमगर थिए।

यती एयरलाइन्सका अनुसार जहाजमा चालकदलका ४ र ६८ यात्रु गरी ७२ जना थिए। ५३ जना नेपाली थिए। बाँकी १५ जना विदेशी रहेको यती एयरलाइन्सले जनाएको छ। १५ जना विदेशी यात्रुमध्ये भारतका ५, रसियाका ४, कोरियाका २ तथा आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १–१ जना थिए। उक्त जहाजले दुर्घटनाअघि आइतबार नै पोखराका लागि पहिलो उडान गरेको थियो। दोस्रोपटक काठमाडौंबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परेको प्रवक्ता बर्ताैलाले बताए।नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button