मूल खबर

ओलीनिवास धाउँदै प्रधानमन्त्री दाहाल

फाइल फोटो ।

काठमाडौँ
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारसहित विषयमा सहमति खोज्न निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास धाउन थालेका छन्। एमालेको समर्थनमा तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहाल पछिल्लो पाँच दिनमा दुई पटक ओलीनिवास बालकोट पुगिसकेका छन्।

पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि पुस २७ गते मन्त्रिपरिषद् विस्तारसहित विषयमा छलफल गर्न भन्दै दाहाल ओलीनिवास पुगेका थिए। पुस २८ गते नै मन्त्रि–परिषद्लाई पूर्णता दिँदै कार्यविभाजन गर्ने दुई नेताबीच पूर्वसहमति भएको थियो। तर दाहाल र ओलीबीच मन्त्रालय भागबन्डा र कार्यविभाजनमा सहमति जुट्न सकेन। र, अर्को बैठक गर्नेगरी दुई नेता बालकोटबाट उठेका थिए। त्यसबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र दाहालबीच भेटवार्ता भएको थियो। तर मन्त्रिपरिषद्सहित विषय टुंगो लगाउन दाहाल सोमबार बिहान फेरि ओलीनिवास बालकोट पुगे।

पाँच घण्टा लामो छलफलपछि दुई नेता प्रतिनिधिसभामा सांसद संख्याका आधारमा मन्त्रालय भागबन्डा गर्ने समझदारीमा पुगेका छन्। दुई नेताबीच सहमति जुटेलगत्तै साँझ सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बसेको हो।

विगतमा उनै ओली प्रधानमन्त्री रहेका बेला सत्ता साझेदार दलका निवासमा मात्र होइन, आफ्नै पार्टीका नेताको घरमा पनि जाँदैनथे। तर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई ओलीले पाँच दिनमा दुई पटक निवासमा बोलाएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि नामलाई लिएर सर्वोच्च अदालतको आदेशपछि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली दाहालनिवास पुगेका थिए। त्यसको अलावा पार्टीभित्र अप्ठ्यारोमा परेपछि ओली नेता वामदेव गौतमनिवास पुगेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पनि ओली एक पटक मात्र बुढानीलकण्ठ पुगेका थिए। आफ्नै र अन्य दलका नेतालाई पनि प्रधानमन्त्रीको सरकारीनिवासमै भेट्ने गरेका ओलीले अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक छन्।नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button