
गोरखापत्र अनलाइन
सीता शर्मा
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका विभिन्न ठाउँबाट करिब ८३ लाख रुपियाँको म्याद सकिएका बियर बरामद गरी थप अनुसन्धान थालेको जनाएको छ ।
विभागको अनुगमन टोलीले मङ्गलबार र बुधबार उपत्यकाका विभिन्न ठाउँमा रहेका गोदामको अनुगमन गर्ने क्रममा विभिन्न ब्रान्डका म्याद सकिएका तीन हजार ६० कार्टोन बियर बरामद गरेर थप अनुसन्धान गरिरहेको जनाएको हो । विभागको अनुगमन टोलीले म्याद सकिएका बियर राखिएका गोदाममा सिलबन्दी गरेको जनाएको छ ।
विभागका निर्देशक होमप्रसाद भट्टराईले अनुगमनका क्रममा म्याद सकिएका टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा र बाह्रसिङ्गे ब्रान्डका बियर राखिएका गोदाममा सिलबन्दी गरी थप अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
उहाँले विशेष गरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेय पदार्थको कारोबार भएको भन्ने गोप्य उजुरीका आधारमा विभिन्न ब्रान्डका बियरका गोदामको अनुगमन गरिएको जानकारी दिनुभयो ।
विभागका निर्देशक भट्टराईले भन्नुभयो, “बियरका हरेक गोदाममा अनुगमन गर्दा उपभोग्य म्याद सकिएका बियरका कार्टोन भेटिएका छन् ।”
विभागका अनुसार बुधबार अनुगमन टोलीले काठमाडौँको सिनामङ्गलमा रहेको गोदामबाट टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्रान्डका बियर ३५५ कार्टोन र टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्ग ब्रान्डका ३०२ कार्टोन उपभोग्य म्याद सकिएका बियर नियन्त्रणमा लिएको छ ।
यसैगरी विभागको अनुगमन टोलीले मङ्गलबार बियरको अनुगमनका क्रममा दुई हजार एक सय कार्टोन बाह्रसिङ्गे ब्रान्डका ६० लाख रुपियाँ बराबरको बियर बरामद गरेको जनाएको छ । यान बुरअरी कम्पनीले उत्पादन गरेको उक्त ब्रान्डका म्याद सकिएका बियर काठमाडौँको धुम्बाराहीमा रहेको क्लाइमेक्स टेडिङ कम्पनीको तीनवटा गोदाममा भण्डारण गरेर राखेको अवस्थामा अनुगमन टोलीले फेला पारेको जनाइएको छ । उक्त कम्पनीका गोदाममा दुई आकारका (३३० देखि ६५० मिलिलिटर) उल्लेखित परिणामका बियरका गोदाममा सिलबन्दी गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । विभागको प्रारम्भिक अनुसन्धानका क्रममा उजुरीमै आएजस्तै विवाह र अन्य रात्रिकालीन भोजभतेरमा पठाउनका लागि ती बियर भण्डारण गरेर राखेको हुन सक्ने अनुुमान गरिएको विभागका निर्देशक भट्टराईले जानकारी दिनुुभयो ।
बियरका डिलर तथा गोदाम सञ्चालकले भने म्याद सकिएका बियरको नष्ट गर्ने उपयुक्त स्थान खोजी गरेर फाल्ने गरी गोदाममा राखेको दाबी गरेका छन् तर भण्डारणको अवस्था हेर्दा नष्ट गर्ने गरी राखेको अवस्था नदेखिएको विभागले जनाएको छ ।
विभागका निर्देशक भट्टराईले बरामद गरिएका बियर अनुसन्धान सकिएपछि मात्रै नष्ट गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डिलर तथा गोदाम सञ्चालकले भनेका कुरालाई मात्रै आधार मान्दैनौँ, त्यस्ता सम्भावित भोजभतेर हुने ठाउँको पनि आकस्मिक अनुगमन गर्छौं, त्यस्तो फेला परेको खण्डमा कानुनअनुसार कारबाही हुन्छ ।”
उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार उपभोग्य मिति सकिएका वस्तुको बिक्री तथा भण्डार गरेको पाइएमा निजलाई विभागको महानिर्देशकको रोहबरमा तीन लाख रुपियाँ जरिवानासहित मुद्दा चलाउन सक्ने व्यवस्था छ । विभागले यसअघि पनि म्याद गुजे्रको सामानमा रिलेबलिङ गर्ने लगभग एक दर्जन कम्पनीविरुद्ध विभागको महानिर्देशक रोहबरमा मुद्दा चलाइएको छ ।
विभागका अनुसार पछिल्लो सातादेखि विभिन्न पेय पदार्थ बिक्री तथा भण्डारण गर्ने गोदामको अनुगमन गर्दै आएको छ । यो अवधिमा विभिन्न पसल, गोदाममा गरी १८ भन्दा बढी अनुगमन गरेको विभागले जनाएको छ ।
साथै विभागले विवाह, व्रतबन्धजस्ता कार्यक्रम पनि विशेष गरी राति हुने भोजभतेरमा जाँदा यस्तो गुणस्तरहीन पेय पदार्थ हुन सक्ने भएकाले विशेष सचेत भएर मात्रै उपभोग गर्न आमउपभोक्तालाई आग्रह गरेको छ । म्याद सकिएका उपभोग्य वस्तु उपभोगमा विषाक्त हुने भएकाले यस्ता वस्तु उपभोग गर्दा सुरुमा सामान्य झाडाबान्ता हुने र दीर्घकालमा यसले स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकले बताउने गरेका छन् ।



