खबर

नक्कली ह्विस्कीपछि म्याद गुज्रिएका बियर छ्यापछ्याप्ती

न्युज अफ नेपाल
काठमाडौं । बजारमा नक्कली मदिराको बिगबिगी भइरहेका बेला गुणस्तरहीन तथा म्याद गुज्रिएका बियर पनि फेला परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट ठूलो परिमाणमा नक्कली मदिरा एवम् गुणस्तरहीन र म्याद गुज्रिएका बियर बरामद गरेको हो ।

विभागले गरेको बजार अनुगमनका क्रममा करिब ३ हजार कार्टुन विभिन्न ब्रान्डका गुणस्तरहीन तथा म्याद गुज्रिएका बियर फेला पारेपछि मदिरा बजारमा तनाव उत्पन्न गराएको छ । भोज भतेर हुने र बजारबाट उच्च माग हुने सिजनमा नक्कली, गुणस्तरहीन तथा म्याद गुज्रिएका मदिरा भेटिएपछि मदिराप्रेमीहरूमा त्रास उत्पन्न गराएको छ ।

पछिल्लोपटक विभागले सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँस्थित गोदाम, सिनामंगलकै सिके ट्रेडिङ प्रालिको गोदाम तथा धुम्बाराहीस्थित याक ब्रुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदामबाट लाखौं रुपियाँ बराबरको २ हजार ७ सयभन्दा बढी कार्टुन बरामद गरेको जनाएको छ । विभागका अनुसार बाह्रसिङ्गे, मुस्ताङ, नेपाल आइस, बड्वाइजर, गोर्खालगायतका ब्रान्डका बियर फेला परेपछि ती गोदाममा सिलबन्दी गरी अनुसन्धान गरिरहेको छ ।

एकैपटक तीनवटा गोदाममा करिब ३ हजार कार्टुन गुणस्तरहीन र म्याद गुज्रिएका बियर फेला परेपछि विभागले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको स्रोतको भनाइ छ । विभागका प्रवक्ता होमनाथ भट्टाईले गोदाम कुन तहका व्यवसायीको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले गोदाम धनीहरूसँग बिल बिजकलगायतका कागजपत्रहरू माग गरिएको जानकारी दिँदै त्यसपछि थप तथ्यहरू खुल्ने र बरामद भएका मदिरा नस्ट गर्ने प्रक्रियामा जाने बताउनुभयो । बजारमा यस किसिमका मदिरा अझ रहने आशंका गर्दै विभागले त्यसको खोजी गरिरहेको पनि जानकारी दिएको छ । उत्पादक कम्पनीको मिलेमतोमा बजारमा म्याद गुज्रिएका बियर पठाइएको हो की डिलर र थोक बिक्रेताको लापबाहीले बजारमा यस्ता वस्तुको आपूर्ति भइरहेको छ भन्ने बारेमा अनुसन्धान भइरहेको छ । यस्तो गुणस्तरहीन बियर बजारमा कति छ भन्नेबारमा छुट्टै अनुसन्धान गर्नुपर्ने स्रोतको भनाइ छ ।

विभागबाहेक प्रहरीले समेत यसतर्फ चासोका साथ अनुसन्धान गरिरहेको स्रोतको भनाइ छ । ‘केही ‘क्लु’ भेटिएका छन् । त्यसलाई ‘फाइन आउट’ गर्ने क्रममा छ । छिट्टै बजारमा नक्कली र गुणस्तरहीन मदिरा आपूर्ति गर्ने सञ्जालको पर्दापास हुन्छ’ –स्रोतले भन्यो ।

विभागका अनुसार नक्कली, गुणस्तरहीन तथा म्याद गुज्रिएका मदिरा, बियर, हल्का पेय पदार्थहरू विशेष गरी भोजभतेर, पार्टी प्यालेस तथा रात्रिकालीन होटल तथा रेस्टुरेन्टहरूमा कारोबार हुन सक्ने भन्दै त्यसका आपूर्तिकर्ता, गोदामहरूमा विशेष निगरानी गर्दै आएको छ ।

यसअघि नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागले छुट्टाछुट्टै गरेको दुई दर्जनभन्दा बढी अप्रेसनमा बजारबाट ठूलो परिमाणमा विभिन्न ब्रान्डका नक्कली मदिरा फेला परेको थियो । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने मात्रै होइन राजस्व र करोडौं रुपियाँ लगानी गरेर स्थापना भएका उद्योग र ब्रान्डलाई ध्वस्त पार्ने गरी बजारमा नक्कली मदिराको उत्पादन तथा बिक्री वितरण हँुदै आएको छ ।

पछिल्लोपटक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले छापा मारेर बजारमा चल्तीका ब्रान्डका नक्कली मदिरा बरामद गरेको छ । यसरी बरामद गरिएका मदिरा स्वदेशी ब्रान्डदेखि विदेशी ब्रान्डसम्म रहेका छन् । प्रहरीले छापा मार्ने क्रममा ठूलो परिमाणमा नक्कली गोल्डेनवाक, रुस्लान भोड्का, ८८४८ भोड्का, रम, मुग्लान विस्की जस्ता ब्रान्डका मदिरा फेला परेको जनाएको छ । उपत्यकामा मदिरा पसलमा चल्तीका ब्रान्डका नक्कली मदिरा र नक्कली मदिरा उत्पादन गर्ने कारखानासमेत फेला परेपछि उपभोक्ता आतंकित भएका छन् ।

भारत र सीमावर्ती क्षेत्रमा नक्कली मदिराका कारण उपभोक्ताको ज्यान गएको खबर सुन्दै आएका उपभोक्तालाई काठमाडौंमा नक्कली मदिरा उत्पादन गर्ने कारखाना, ब्रान्डेड बियर पनि म्याद गुज्रिएको भेटिए उपभोक्तामा त्रास बढेको छ । प्रहरीले कुपन्डोलस्थित नेक्स्ट टेस्ट लिकर सप, गोंगबु मित्रनगरस्थित एसटी लिकर स्टोर्सबाट लाखांै मूल्यबराबरको नक्कली मदिरा बरामद, ललितपुरको टिकाथलीमा विदेशी मदिरा बनाउने कारखाना फेला पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button