मूल खबर

वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने

लक्ष्मी सापकोटा
काठमाडौँ  । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला हुने सहमति भएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले मे १ देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुला हुने जानकारी दिनुभयो । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका खुलाउने सहमति भएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला रहेका छन् । मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने मन्त्रालयले जनाएको छ ।

चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ । हुम्लाको यारी नाकाबाट समेत सामानको आयात हुने गर्छ । रसुवाको केरुङ नाका शनिबार खुला भएको छ । रसुवाको केरुङ नाका गत जनवरी पहिलो सातादेखि अर्थात् पुस १२ गते एकतर्फी रूपमा मात्र खुला भएको थियो । शनिबारबाट दुवैतर्फी व्यापार र मानिस आवतजावत गर्ने गरी नाका खुला भएको हो । २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण तातोपानी नाका लामो समयदेखि बन्द रहेको थियो । सो नाकाबाट बीचमा कार्गो सामान आयात भए पनि नाका पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

सरकारले २०७६ चैत ११ गते कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि लकडाउन गरेपछि बन्द रहेको चीनतर्फको रसुवागढी–केरुङ नाका बन्द रहेको थियो । यसअघि २०७८ असोजदेखि चीनबाट एकतर्फी मालसामान ल्याउने गरी रसुवागढी नाका खुला भएको थियो ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका शनिबारदेखि दुईतर्फी नै खुला भई सामान आउन थालेको जानकारी दिनुभयो । गत पुस १२ गते रसुवा नाका खुला भई स्वदेशी सामान आयात निर्यात भए पनि मानिसको आवतजावत बन्द थियो । गत पुसदेखि सो नाकाबाट हालसम्म नेपालबाट १५ करोड रुपियाँ बराबरका १७० ट्रक सामान चीनमा निर्यात भएको उहाँले जानकारी दिनुभयो । चीनबाट नेपालमा रसुवा नाकाबाट १८ अर्ब रुपियाँ बराबरको सामान आयात भएको उहाँले जानकारी दिनुभयो । चिनियाँ पक्षको मागअनुसार सामान पर्याप्त उत्पादन नहुँदा न्यून परिमाणमा मात्र सामान निर्यात भएको भण्डारीले जानकारी दिनुभयो । मागको आधारमा व्यवसायीले पछिल्लो समय हस्तकलाका सामान, नेपाली कागज, मूर्तिलगायतका सामान बढी मात्रामा निर्यात हुँदै आएको छ ।

नेपालबाट चीनतर्फ निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हातेझोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन् ।

डेढ खर्बको आयात, ५१ करोडको निर्यात

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन)सम्म एक खर्ब ४५ अर्ब ७८ करोड ५७ लाख ५१ हजार रुपियाँ बराबरको सामान आयात भएकोमा ५१ करोड ९३ लाख ६६ हजार रुपियाँको निर्यात छ । चीनबाट नेपालमा ठुूलो परिमाणमा आयात भए पनि सो अनुुपातमा निर्यात नहुुँदा आठ महिना एक खर्ब ४५ अर्ब २६ करोड ६३ लाख ८५ हजार रुपियाँको व्यापार घाटा रहेको छ । विभागको तथ्याङ्कअनुसार आव २०७८–७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपियाँको सामान आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो ।

चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । स्वदेशी वस्तुको निर्यातमा छुुटको व्यवस्था भए पनि निर्यात भने न्यून मात्र हुनेगर्छ ।गोरखापत्र दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button