मूल खबर

रविको राहदानी प्रकरण : निर्णय बदर मागको रिट दर्ता

गोरखापत्र अनलाइन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।

महान्यायाधिवक्ताले सर्वोच्चको नजिर र संविधानको मनसायविपरीत निर्णय गरेको भन्दै बदरको मागसहित युवराज पौडेलले रिट दर्ता गर्नुभएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार रिटको प्रारम्भिक सुनुवाइ मङ्गलबारका लागि तोकिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयको निर्णयअनुसार महान्यायाधिवक्ता कार्यालयले चैत ६ गते मुद्दा नचल्ने निर्णय गरेको थियो। पौडेलले नै माघ १७ गते दिनुभएको निवेदन अनुसन्धानपछि सरकारी वकिलले मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो।

अमेरिकी नागरिक रहेकै अवस्थामा निष्क्रिय रहेको नेपाली नागरिकताका आधारमा सभापति लामिछानेले नेपाली राहदानी लिएको खुलेपछि प्रहरीमा निवेदन परेको थियो। लामिछानेले भने सर्वोच्चको आदेशअनुसार नयाँ नागरिकता लिएसँगै उक्त राहदानी फिर्ता गरिसक्नुभएको छ तर निष्क्रिय नागरिकताका आधारमा झुटा विवरण दिएर राहदानी लिएको भन्दै अनुसन्धान र कारबाहीको माग निवेदनमा गरिएको थियो।

निवेदक पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णय यसअघि मोहम्मद अफताव अलामको मुद्दामा अदालतले प्रतिपादन गरेको नजिरविपरीत भएको जिकिर गर्नुभएको छ। सर्वोच्चले महान्यायाधिवक्ताको निर्णय बदर गर्दै अफतावविरुद्ध जाहेरी दर्ताको आदेश दिएको थियो। सोही जाहेर अनुसन्धानपछि मुद्दा चलाइएको थियो।

पौडेलको रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, निर्वाचन आयोग र लामिछानेलाई विपक्षी बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button