
मेचीनगर । मेचीनगर नगरपालिकाले गठन गरेको मेचीनगर संचार प्रतिष्ठानप्रति झापामा कृयाशिल संघ संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन। प्रतिष्ठानमार्फत पालिकालाई संचारमैत्री बनाउने भन्दै गठन गरिएको प्रतिष्ठान स्वेच्छाचारी ढंगबाट गठन गरिएको भन्दै ती संगठनहरुले आपत्ति जनाएका हुन।
पालिकाले संचारकर्मीहरुसँग कुनै छलफल नगरी ऐन नै नबनाई कार्यविधिमार्फत प्रतिष्ठान गठन गरिनुले संचार क्षेत्रमाथी हस्तक्षेप गरेको उनीहरुको ठहर छ। ‘मनोमानी ढंगले गठित प्रतिष्ठान तत्काल खारेज गरि मेचीनगरका आम संचारकर्मीसँगको छलफलबाट संचार ऐन र नियमावली बनाएर प्रतिष्ठान गठन गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ । उनीहरुले प्रतिष्ठानमार्फत संचार माध्यमलाई सवलीकरण गर्नु स्वागतयोग्य कदम भएतापनि प्रतिष्ठान गठन गर्दा संचारकर्मीले थाहा नपाउनु दुखद भएको जनाएका हुन ।
प्रेस युनियन झापाका कार्यबाहक अध्यक्ष गिरिराज भट्टराई, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक र समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेव राईले हस्ताक्षर गरेकाे बिज्ञप्तीमा पालिकाले गरेको यो निर्णय तत्काल सच्याएर संचारकर्मीसँग छलफल गरि संचार ऐन बनाएर प्रतिष्ठान गठन गर्न उनीहरुले जोडदार माग गरेका छन ।



