मूल खबर

अडियो प्रकरणले धरापमा श्रेष्ठको सांसद पद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँको ‘डिल’ गरेको अडियो (श्रव्य सामग्री) बाहिरिएपछि उनको सांसद पद धरापमा छ।

सञ्चार माध्यमबाट आइतबार उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि कामकारबाही नगर्नरनगराउन निर्देशन दिएको थियो। त्यस्तै रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिएको थियो।

सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए। स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको दलील गरेको स्रोत बताउँछ। सोही कुरा सोमबार श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ। श्रेष्ठले स्पष्टीकरण दिएपछि केन्द्रीय अनुशासन तथा आचरण समितिले मंगलबार आफ्नो प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेको छ।

‘उहाँ (ढाकाकुमार श्रेष्ठ) ले २४ घण्टा नाघेर स्पष्टीकरण दिनुभयो। केही ढिला भए पनि उहाँको स्पष्टीकरण लियौं,’ अनुशासन तथा आचरण समितिका संयोजक भरतमणि देवकोटाले भने, ‘यस्तै उहाँसँग मंगलबार बयान पनि लियौं। पार्टीको निर्देशनअनुसार स्पष्टीकरण र बयान लियौं, सत्यतथ्य पनि बुझ्यौं। सबै बुझेर प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेका छौं।’नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button