मूल खबर

प्रहरी बढुवाबारे सामाजिक सञ्जालमा असन्तुष्टि

न्युज अफ नेपाल
काठमाडौं । सरकारले हालै नेपाल प्रहरीमा गरेको बढुवामा असन्तुष्टि जनाउँदै आएका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले सामाजिक सन्जालमार्फत सरकारविरुद्ध आफ्नो असन्तुष्टि पोख्नुभएको छ ।

ऋाफूसँगैका साथीहरूको बढुवा हुँदा पनि आफ्नो बढुवा नभएपछि लोकसेवा आयोगमा समेत उजुरी गरेका सिंहले कहीँ कतै सुनुवाई नभएपछि सामाजिक सञ्जाल फेसबुकमा तनहुँ १ बाट उपचुनावमा निर्वाचित डा. स्वर्णिम वाग्लेलाई बधाई दिँदै लेख्नुभएको छ– ‘देश लुटेराहरूलाई ठूलो धक्का, बधाई छ डाक्टर साप ।’

सिंहभन्दा वरीयतामा पछाडि रहेकाहरूसमेत प्रहरी नायव महानिरीक्षक बढुवा भएकोमा निरास देखिएका सिंहले डीआईजी बढुवाको आधार विभिन्न निकायमा खोजेको भए पनि कुनै पनि निकायले आफूलाई आधारसहितको जानकारी नदिएको भन्दै सामाजिक सञ्जालमा निरासा पोख्नुभएको थियो । उहाँले राजनीतिक नेतृत्वप्रति पनि असन्तुष्टि पोख्नुभएको छ ।

नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षकको उमेर हद ५५ वर्ष रहेकाले भोलिबाट उहाँले प्रहरी सेवाबाट अवकास पाउँदै हुनुहुन्छ । २८ वर्ष प्रहरी सेवामा काम गरेका सिंहले सुरक्षा निकायको चेन अफ कमान्डमा नै असर गर्ने गरी व्यक्त गरेको अभिव्यक्तिप्रति प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल समाचारपत्रसँगको कुराकानीमा एसएसपी सिंहले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिको बारेमा प्रधान कार्यालयको ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले एसएसपी सिंहको जागिर अवधि पनि सकिएकाले थप कारबाही अगाडि बढ्न नसकेको जानकारी दिनुभयो ।

नेपाल प्रहरीमा हुने सरुवा बढुवामा राजनीतिक हस्तक्षेप देखिने गरी हुने गरेका कारण राम्रो काम गर्ने प्रहरी कर्मचारी सरुवा बढुवामा छुट्दै आएका छन् । अहिले नेपाल प्रहरीका अधिकांश अधिकृतहरू सरुवा बढुवाका लागि नेताका घर घर धाउने क्रम तीव्र हुँदै गएको छ । जसका कारण नेपाल प्रहरीको काम कारबाहीमा समेत क्रमशः ह्रास आउँदै गएको छ । प्रहरीको कामप्रति जनताले पटक पटक प्रश्न उठाउँदै आउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button