मूल खबर

शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन एमालेले भूमिका खेलिरहेको छ : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली महासचिव गुटेरेससँग ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन आफ्नो दलको तर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभएको छ । आइतबार सङ्घीय संसद् भवनमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा लग्न ढिलाइ गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । माओवादीले युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मनाउने निर्णय गराएर गल्ती गरेको कुरा अध्यक्ष ओलीले गुटेरेससँग राख्नुभएको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यता, महासचिव गुटेरेसले आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताउनुभएको थियो । त्यसैगरी ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रिया छिटो टुङ्गोमा लग्ने प्रयास गरिरहेको बताउनुभएको थियो ।

बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र सङ्घबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताउनुभएको एमाले उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुरुमै महासचिव नेपालप्रतिको आफ्नो लगावका केही सन्दर्भहरू उठाउनुभयो । भुटानी शरणार्थी समस्या समाधानमा यसभन्दा अघि पनि आएको कुरा जानकारी गराउँदै खास गरेर नेपालको मौलिक ढङ्गको शान्ति प्रक्रिया, जो सफल भएको छ । त्यो कुरा नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा गरेको असाधारण योगदान र शान्तिका प्रणेता गौतम बुद्धको थलो भएको कारणले पनि नेपालप्रति आफ्नो विशेष माया रहेको बताउनुभएको थियो ।

‘खासगरी नेपाली चाहिँ जलवायु परिवर्तनका कारण जुन पीडाहरू भोग्नुपरेको छ । यो विषयलाई म नजिकबाट हेर्न चाहन्छु । र, यसलाई एउटा एजेण्डा बनाएर अगाडि बढाउन चाहन्छु’ भन्नुभएको छ । दोस्रो, नेपाल अल्पविकसित अवस्थाबाट ग्राजुयट हुँदैगर्दा हामी नेपालको साथमा छौँ भन्नुभयो । र, तेस्रो चाहिँ शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुङ्गियोस् भनेर आफूले चाहेको उहाँले बताउनुभयो । हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय भनेको सङ्क्रमणकालीन अन्याय हुनु हुँदैन । त्यो चाहिँ पीडितलाई ध्यान राखेर समाधान गरिनुपर्छ । हामी त्यसलाई छिटोभन्दा छिटो टुङ्ग्याउन चाहन्छौँ भन्नुभएको ज्ञवालीले जानकारी दिनुभयो।

जलवायु परिवर्तनको सन्दर्भमा नेपालले सकारात्मक योगदान गर्दागर्दै पनि आफूले नगरेको गल्ती भोग्न परिरहेको कुरा अध्यक्ष ओलीले बताउनुभयो । यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गर्नुभयो । त्यस्तै लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सहयोगको अपेक्षा गर्नुभयो । संयुक्त राष्ट्र सङ्घलाई अझ बलियो, अझ प्रभावकारी भएको, खासगरी विकासशील देशहरूको एउटा बलियो अभिभावक बनेको देख्न चाहन्छौँ अध्यक्ष ओलीले भन्नुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button