खबर

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

काठमाडौँ। गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको हो ।

मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा दोषीउपर कानुनी कारबाही गर्न र गलत सामग्री सञ्जालबाट स्वतः हट्ने व्यवस्था मिलाउन सिङ्गापुरस्थित टिकटक कार्यालय र नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकायहरुबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय, सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच भएको छलफल भएको जनाउँदै सामाजिक सद्भाव बिगार्ने, विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील गतिविधि तथा सामग्री हटाउने र त्यस्ता सामग्री सञ्जालमा राख्ने व्यक्ति पत्ता लगाई कानुनी दायरामा ल्याउन सहज हुने भएकाले कानुनी कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयले जिम्मेवार नागरिकका रुपमा कानुनसम्मत् शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र सामाजिक सञ्जालमा राख्न अनुरोध गर्दै गैरकानुनी काम गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।Sagarmatha TV

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button