खबर

‘नेपालमा लगानीको वातावरण सकारात्मक’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेको बताउनुभएको छ ।

राजधानीमा सोमबार आयोजित एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) को ३७ औँ सम्मेलन उद्घाटन कार्यक्रममा उहाँले लगानीका लागि नेपाल उपयुक्त मुलुक भएकाले सम्मेलनमा सहभागी उद्यमी व्यवसायीलाई लगानी ल्याउन पनि आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र परिसङ्घले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यको रूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र सञ्जाल निर्माणमा सम्मेलन कोशेढुङ्गा हुने धारणा राख्नुभयो । एसिया प्रशान्त क्षेत्रका देशसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने उहाँको भनाइ थियो । “यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समयसापेक्ष र सान्दर्भिक छ,” उहाँले भन्नुभयो ।

विश्व व्यापार परिदृश्यमा पङ्क्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया–प्रशान्त क्षेत्रका उद्योग वाणिज्य सङ्घको भूमिका निर्णायक हुने राष्ट्रपति पौडेलले बताउनुभयो ।

कार्यक्रमका मुख्य वक्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सबल पक्ष रहेकाले खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेको बताउनुभयो । युवा जनसङ्ख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठुलो अवसर रहेकाले क्यासी जस्ता मन्चमार्फत लगानी, प्रविधि र विकासका अनुभव ल्याउन हाम्रो प्रयास हुनुपर्ने उहाँको धारणा थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसरलाई सदुपयोग गर्न सम्मेलनका सहभागीलाई आग्रह गर्नुभयो । नेपालमा नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासी जस्ता संस्थाहरूको अर्थपूर्ण सहयोग नेपालले खोजेको बताउनुभयो ।

कार्यव्रmममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार, एसिया–प्रशान्त क्षेत्रको समृद्ध भविष्य सिर्जना गर्ने आधार रहेको बताउनुुभयो । दुई उदीयमान अर्थतन्त्र भएका चीन र भारतको बिचमा अवस्थित नेपाल एसिया प्रशान्त क्षेत्रका उद्यमीका लागि आकर्षक लगानी गन्तव्य हुने उहाँको धारणा थियो ।

यसै गरी नेपालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर रहेको पनि उहाँले बताउनुभयो ।

क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमले क्यासीको ३७ औँ सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाउनुुभयो । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोसेढुङ्गा हुने उहाँको भनाइ थियो । क्यासीका उपाध्यक्ष एवं महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले दिगो एवं वातावरणमैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुभव आदानप्रदान गर्न र हाम्रा आर्थिक सम्बन्धहरू विस्तार गर्न सम्मेलन ऐतिहासिक हुने बताउनुभयो ।

क्यासी एसिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासङ्घ÷सङ्घहरूको छाता संस्था हो । सन् १९६६ मा स्थापना भएको क्यासी एसिया–प्रशान्त क्षेत्रभित्रका व्यावसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रहरूबिच आर्थिक सहयोग, व्यापार र लगानी प्रवर्धनमा एक सव्रिmय साझा मञ्चको रूपमा कार्य गर्दै आएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button