
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।
उहाँले बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको बताउनुभयो । पार्टीका तीन जना नेतालाई सर्वाधिकार दिइ गठबन्धनको बैठकमा पठाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय सभाको निर्वाचनका लागि हामीले हाम्रो पार्टीले कति सिट संख्या प्राप्त गर्नेछ, कुन प्रदेशमा प्राप्त गर्नेछ र कुन क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सम्पूर्ण कुराको निर्णय गर्ने सर्वाधिकारसहित पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई अधिकार दिइ सचिवालयले उहाँहरुलाई गठबन्धनको बैठकमा पठाएको छ ।’’
उहाँले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्न खोज्नु नहुने र प्रतिपक्षकै हिसाबमा बस्नुपर्ने बारेमा पनि छलफल भएको बताउनुभयो।गोरखापत्र अनलाइन



