खबर

काे थिए चन्द्रागिरी दुर्घटनामा मृत्यु भएका एकै परिवारका पाँच सदस्य ?

काठमाडौं । शनिबार मध्यान्न चन्द्रागिरी सडक स्थित सेतो पहरोमा बाल एवं एलर्जी रोग विशेषज्ञ डा. महेशकुमार गौतमसहित उहाँकी छोरी, छोरा, सासु र ससुराको निधन भएको छ ।

काठमाण्डौको चन्द्रागिरी नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा डा. गौतमसहित मैतिदेवी बस्ने डा.गौतमका ससुरा ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया सासु कल्पना तिवारी, डा. गौतमकी ६ वर्षीया छोरी स्मारिका गौतम र ४ वर्षका छोरा प्रियान्स गौतमसहित पाँच जनाको ज्यान गएको हो ।

दुर्घटनामा डा. गौतमकी श्रीमती सृष्टि तिवारी मात्र बाँच्न सफल हुनुभएको छ ।

काठमाडाैंबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिनुभएको छ । कार बिहान ११.५५मा सेतो पहरास्थित सडकबाट पाँच सय मिटर तल खसेको थियो।

उकालोबाट कार व्याक हुन थालेपपछि ढुंगाको आड लगाएर रोक्न सकिन्छ कि भनेर झरेकी महेशकी श्रीमती डा. सृष्टी तिवारी मात्र बाँच्न सफल भएको बताइएको छ ।

डा. सृष्टी नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर विशेषज्ञ हुनुहुन्छ । ३८ वर्षीय स्वर्गीय डा. महेश गौतमले लाजिम्पाटस्थित आफ्नै घरमा नेशनल आस्थ्मा एलर्जी सेन्टर सञ्चालन गर्दै आउनुभएको थियो ।

बालबालिकासम्बन्धि आस्थ्मा र एलर्जीसम्बन्धि उहाँ अव्वल डाक्टर हुनुहुन्थ्यो । डा. गौतम पेडियाट्रिक अस्थ्मा एलर्जी इम्मुनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल (पेआप्सन) अध्यक्ष एवं लायन्स क्लव अफ काठमाण्डौ रेडियन्सको निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो ।

मृतकहरुको शरीर पोष्टमार्टमका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ । डा. महेशको बुबा आमा अमेरिकामा दाइ भएको ठाउँमा जानुभएकाले उहाँहरु आएपछि मात्र दाहसंकार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु थियाे भने एक जनाको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो ।
जनता समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button