खबर

जागिर खाँदै पढ्दैः ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो’

काठमाडौं । सिभिल तथा आर्किटेक्टमा डिप्लोमा गरी सबइन्जिनियर भएकाहरूलाई इन्जिनियर बन्न नेपाल इन्जिनियरिङ कलेजको बिडिएच (ब्याचलर फर डिप्लोमा होल्डर्स) कार्यक्रमले उच्च शिक्षाको बाटो खोलिदिएको विद्यार्थीहरूले बताएका छन् । सिटिइभिटीबाट डिप्लोमा गरी सरकारी तथा गैरसरकारी क्षेत्रमा जागिर खाइरहेकाहरूलाई विश्वविद्यालयको शिक्षा हासिल गर्न बिडिएचले ठूलो सहयोग गरेकोले यो कोर्ष निरन्तर सञ्चालन हुनुपर्ने समेत उनीहरूले बताएका हुन् ।

शनिबार नेपाल इन्जिनियरिङ कलेज (नेक)को बिडिएचतर्फ १४, १५, १६ र १७ औं ब्याचका विद्यार्थीहरूलाई बिदाई कार्यक्रममा बोल्दै विद्यार्थीहरूले नेकको बिडिएच नभएको भए आफूहरूको इन्जिनियर बन्ने सपना पुरा हुनै नसक्ने जिकिर गर्दै बिडिएच कार्यक्रमलाई समयसापेक्ष सुधार्दै निरन्तरता दिई रहनुपर्ने बताए । ‘यो कार्यक्रमको महत्व धेरै छ । नेपाल इन्जिनियरिङ कलेजमा बिडिएच नभएको भए मेरो इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो ।’ बिडिएच पुरा गरी बिदा भएका राजनारायण सरदारले भने । डिप्लोमा गरी काम गर्दै गरेका तर पढ्ने चाहना बनाएका विद्यार्थीहरूका लागि इन्जिनियर बन्न बिडिएच महत्वपूर्ण कोर्ष भएकोले त्यसलाई अझ परिमार्जित र समय सापेक्ष बनाउनु पर्ने उनको भनाई छ । ‘दिनभर काम गरी साँझ पढ्ने अवसर पाउनु ठूलो कुरा हो ।’ सरदार भन्छन् ।

बिडिएचकै कारण नेपाल सरकारको उपसचिवमा बढुवाको क्रममा रहेकी विद्यार्थी सृष्टि ख्वलपलले डिप्लोमा मात्र गरेका धेरै विद्यार्थीहरूलाई बिडिएचले इन्जिनियर बनाएको भन्दै आफूले सरकारी सेवामा हासिल गरेको सफलतामा बिडिएचको योगदान रहेको जिकिर गरिन् । ‘नेक बिडिएच नभएको भए मैले कि जागिर छाड्नु पर्थ्यो, कि यत्तिकै बिदा हुनुपर्थ्यो तर, गर्वको कुरा अबको २, ३ महिनामा बढुवा भएर उपसचिव हुँदैछु ।’ उनले भनिन् । नेपाल इन्जिनियरिङ काउन्सिलले पछिल्लो समय इन्जिनियरिङ लाइसेन्स परीक्षा लिएकोमा त्यसलाई केही सुधार्नु पर्नेमा उनले जोड दिइन् । चार साँढे चार वर्षको कोर्ष पुरा गरेका विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ ।

विद्यार्थी ज्ञानमान श्रेष्ठ, सुरेन्द्र महरा, गौतम अवस्थीले सिभिल र आर्किटेक्ट सँगै अन्य विधामा डिप्लोमा गरेकाहरूलाई पनि उच्च शिक्षा हासिल गर्ने बाटो बनाउन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले बिडिएचले सिटिइभिटीको डिप्लोमा गरेकाहरूलाई उच्च शिक्षा हासिल गर्ने बाटो खोलिदिएको भन्दै नेपालका लागि यो कोर्ष महत्वपूर्ण रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button