मूल खबर

‘तस्करीको सेटिङ भत्किँदै छ’

काठमाडौं । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारमा केही खराब कर्मचारीका कारण तस्करी नरोकिएको स्वीकार गर्दै विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करको ‘सेटिङ’ भत्काउने काम भइरहेको दाबीसमेत गर्नुभएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आइतबार विभागद्वारा आयोजित आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार विषयक अन्तरक्रियामा उहाँले कतिपय खराब कर्मचारीकैै कारण तस्करले प्रश्रय पाइएको बताउनुभएको हो ।

महानिर्देशक पौडेलले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करको ‘सेटिङ’ भत्काउन विभाग केही हदसम्म सफल भएको जिरिकसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘भन्सार कार्यालयमा हुने विभिन्न खालका सेटिङ भत्काउने काम भइरहेको छ तर तस्करहरू एक कदम अगाडि छन्, उनीहरू हाम्रा कमजोरी हेरेर योजना बनाउँछन् ।’

यसैबीच विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस साताव्यापीरूपमा मनाउने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा माघ ९ गते नेपाल समुद्रपार निकासी पैठारी संघको आयोजनामा माघ १० गते नेपाल चेम्बर अफ कमर्सको आयोजनामा र माघ ११ गते नेपाल उद्योग परिसंघको आयोजनामा अन्तरक्रिया गरिने विभागले जनाएको छ । त्यस्तै, देशभरका विभिन्न भन्सार कार्यालयले व्यवसायी तथा सरोकारवालासँग अन्तरक्रिया, खेलकुदलगायत विविध कार्यक्रम, रक्तदानलगायत कार्यक्रम गर्नेछन् । अन्तर्राष्ट्रिय भन्सार दिवस मूल समारोह समितिको आयोजनामा माघ १२ गते विभागमा विशेष कार्यक्रम आयोजना गरिने विभागले जनाएको छ ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button