खबर

एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन : सभापति देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई साेमबार पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता कार्यकर्ताबीच मेलमिलाप हुन आवश्यक रहेको बताउनुभएकाे हाे ।

नेता तथा कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो । ठूलो त्याग र बलिदानपछि आज नेपाली कांग्रेस मुलुकको पहिलो शक्ति बनेको बताउँदै देउवाले एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताउनुभयो ।

ठूलो दलमा सबैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने भन्दै सभापति देउवाले भन्नुभयो, “निरन्तर लाग्ने नेताहरु अवसरवाट वञ्चित हुन पर्दैन ।” उहाँले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा हाम्रा साथीहरुबीच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैँ जितिरहन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको समस्यालाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।”

देउवाले कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको बताउँदै यो व्यवस्थाका कारण आदिवासी जनजाति, अपाङ्गता भएकाको प्रतिनिधित्व हुने अवस्था आएको बताउनुभयो ।

देउवाले तत्कालका लागि गठबन्धनको विकल्प समेत नरहेको बताउनुभयो । मुलुकको समस्या समाधानका लागि अहिले गठबन्धनलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।जनता समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button