मूल खबर

यान्त्रिक सेवा महानिर्देशनालय सेनाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको साथमा सैन्य अधिकारी । तस्बिरः उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

शुक्रबार नेपाली सेना बहुव्यवसाय उद्योग–जुत्ता कारखाना, श्री सुन्दरीजल आर्शनल कार्यालय र श्री सुन्दरीजल मिनिरल वाटर प्लान्टमा निरीक्षणका क्रममा उहाँले यस क्षेत्रमा कार्यरत सैनिक तथा गैह्रसैनिक सकलदर्जाको योगदानको प्रशंसा गर्नुभयो ।

अहिले भइरहेका कामलाई अझ प्रभावकारी ढंगबाट सम्पादन गर्न तल्लीन रहन र नेपाली सेना तथा सम्बन्धित कार्यालय परिवारलाई उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामनासमेत दिनुभयो ।

सुन्दरीजल आर्सनल कार्यालय, जुत्ता कारखाना र सुन्दरीजल मिनिरल वाटर प्लान्टको स्थापनाले नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धि गर्नुका साथै अत्यावश्यक सैनिक सामग्री उत्पादनमा आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

‘‘विश्वका कतिपय राष्ट्रका सङ्ग्रहालयमा संरक्षित गरी राखिएको वीर गन यस सुन्दरीजल कार्यालयमा उत्पादन भएको तथा विगतमा ०.४५ इन्च मार्टिन हेनरी एम्युनिशन उत्पादन गरी निर्यात समेत गरेको देखिँदा यस कार्यालयले आफ्नो क्षमता अभिवृद्धि गर्दै हाल नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन स्ट्यान्डर्डका विभिन्न प्रकारका गुणस्तरीय साना हतियार र गोलाबारुदको उत्पादन गर्न सक्ने क्षमता समेत हासिल गरेको जानकारी पाउँदा मलाई ज्यादै खुसी लागेको छ’’, उहाँले भन्नुभयो ।

नेपाली सेनाले हालसम्म प्रयोगमा ल्याइरहेको डिएमएस बुटको साटो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बुट उत्पादन गर्ने लक्ष्य अनुरूप ओरिजिनल फूटवेयर लिमिटेड लायविलिटी कम्पनी (एलएलसी) अमेरिकी कम्पनीबाट ओरिजिनल स्पेसल विपन्स एण्ड ट्याक्टिस बुटको ट्रेडमार्क तथा प्रविधि लिई गुणस्तरीय बुट उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको जुत्ता कारखानाले ठुलो परिमाणमा उत्पादन सुरु गरिसकेको कुरा प्रसन्नताको विषय भएको उहाँको भनाइ थियो।

आधुनिक प्रविधिबाट बुट उत्पादन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि पर्याप्त जनशक्ति, तालिम र बजेटको कमीले प्लाण्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न कठिनाइ देखिएको भन्दै उहाँले यी समस्या तथा चुनौतीको निराकरणका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल हुने बताउनुभयो ।

सो अवसरमा उहाँले तपाईँहरू संवेदनशील क्षेत्रमा काम गर्ने जनशक्ति भएको हुँदा आफ्नो व्यक्तिगत सुरक्षालाई ध्यान दिँदै व्यावसायिक तवरले देश, जनता र आफ्नो सङ्गठनको हितलाई ध्यानमा राखेर काम गर्न पनि सकल दर्जालाई आग्रह गर्नुभयो। निरीक्षणमा प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा समेत सहभागी हुनुभएको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button