
सीता शर्मा
काठमाडौँ। सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् ।
बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।
पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन् । तथ्याङ्क अनुसार औसतमा दैनिक पाँच वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।
बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको २०८०/८१ को पुस महिनासम्म १३ हजार ७७ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गुमाएका छन् ।
चालु आवको छ महिनामा तीन लाख ५० हजार वैदेशिक रोजगारीमा गएकामध्ये ६५६ नेपाली श्रमिकले ज्यान गुमाएका छन् । सो अवधिमा करिब सात खर्ब विप्रेषण भित्रिएको हिसाबमा देखिन्छ । बोर्डका अनुसार कोभिड–१९ सङ्क्रमणका कारण श्रम गन्तव्यमा नै मृत्यु भएका र सोही देशमा नै अन्त्येष्टिका लागि सहमति प्रदान गर्ने परिवारका सदस्यलाई बोर्डको निर्णय अनुसार प्रतिपरिवार थप ५० हजार सान्त्वना राहत सहयोग गरेको थियो । यसरी राहत सहयोगका लागि बोर्डले थप ४६ लाख रुपियाँ प्रदान गरेको बोर्डले जनाएको छ।
राहत लिनेको सङ्ख्या वृद्धि
चालु आवको छ महिनामा वैदेशिक रोजगारीमा मृत्यु र अङ्गभङ्ग भएर आर्थिक सहायता लिने श्रमिकको सङ्ख्या गत वर्षको तुलनामा छ प्रतिशतले बढेको छ । बोर्डका अनुसार यस अवधिमा ३०७ जना अङ्गभङ्ग तथा बिरामी भएर स्वदेश फर्किएका थिए । गत आवको साउनदेखि पुससम्म ११५ श्रमिक अङ्गभङ्ग तथा बिरामी भएर फर्किएका थिए ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले स्थानीय तह र विदेशस्थित नेपाली दूतावास वैदेशिक रोजगारीका क्रम हुने घाइते वा अङ्गभङ्ग भएकाले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको सङ्ख्या पछिल्लो पटक बढेको बताउनुभयो । बोर्डका अनुसार चालु आवको छ महिनामा विभिन्न छ शीर्षकमा ५० करोड पाँच लाख ९८ हजार रुपियाँ कल्याणकारी कार्यमा खर्च गरेको छ । यसमध्ये सबैभन्दा बढी ३७ करोड पाँच लाख मृतक श्रमिकका परिवारलाई आर्थिक सहायता वितरण गरिएको छ।
वैदेशिक रोजगार बोर्डले सार्वजानिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म रोजगारीकै क्रममा ६५६ नेपालीले मृत्युवरण गरेका थिए भने ३०७ जना अङ्गभङ्ग तथा बिरामी भएर स्वदेश फर्किएका थिए । गत आवको साउनदेखि पुससम्म ११५ श्रमिक अङ्गभङ्ग भएको थियो ।
मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता लिनेको सङ्ख्या वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत गरेसँगै सेवाग्राही सङ्ख्या बढेर सहयोग रकम पनि बढेको छ ।
बोर्डले सार्वजानिक गरेको आव २०७९/८० को प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४५ महिलासहित एक हजार २०८ नेपाली श्रमिकको मृत्यु भएको थियो । विगत तीन वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गएको बोर्डले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
मृत्युको कारण
वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलमा दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु र आत्महत्याको ठुलो सङ्ख्या छ ।गोरखापत्र दैनिकबाट ।



