मूल खबर

भारतीय गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

काठमाडौं ।

एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडी नियन्त्रणमा लिएको छ। सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो।

आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बताए। नक्कली नोटसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेकोमा शङ्का लागेपछि खानतलासी गर्दा पछाडिको भागमा लुकाई छिपाइ ल्याइएको नक्कली नोट बरामद भएको रेग्मीले बताए।

बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन्। गाडीमा सवार अर्का व्यक्ति भने फरार छन्। गाडी भारतबाटै आएको देखिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button