
भद्रपुर—नेपाल पूर्व प्रहरी संगठन झापाले विहिबार जिल्ला प्रहरी कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ ।संगठनको आयोजनामा निस्किएको जुलुशले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेको प्रहरी कल्याण कोषको रकम हिनामिना भएको बिषयलाई लिएर सो कोषको रकम छानबिनको माग राख्दै ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय समितिको पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत झापामा संगठन अध्यक्ष खड़गबहादुर खड्काको नेतृत्वमा निस्किएको जुलुशले जिल्ला प्रहरी कार्यालय पुगी प्रहरी प्रमुख एसपी मिलन केसी समक्ष छ ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्रमा कोषको रकम बिनियोजनगर्दा चालीस प्रतिशत पूर्ब प्रहरीका लागि खर्च गर्नु पर्ने र बीस प्रतिशत आयमुलक कार्यमा खर्च गर्न नीतिगत निर्णय गरिनु पर्ने, कोष संचालक समितिमा चालीस प्रतिशत प्रतिनिधित्व पूर्ब प्रहरी संगठन वा पूर्ब प्रहरीहरूबाट ब्यबस्था हुनु पर्ने, माग गरिएको छ ।
त्यसै गरी ज्ञापन पत्रमा प्रहरी संगठनको काम शान्ति सुरक्षा दिनु पर्ने हुँदा कल्याणकारी योजना अन्तर्गत ब्यापारीक कार्यहरु पूर्ब प्रहरी संगठन मार्फ़त हुनु पर्ने, प्रहरी प्रधान कार्यालयमा पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गर्नु पर्ने र,अमर शहीद परिवारका सन्तति लाई दश प्रतिशत र प्रहरी परिचरदेखि बरिष्ठ प्रहरी नायव निरीक्षक दर्जासम्मका पूर्ब प्रहरीका सन्ततिलाई पाँच प्रतिशत नयाँ भर्नामा कोटाको ब्यबस्था गर्नु पर्ने माग समेत अघि सारिएको छ । उक्त ज्ञापन पत्र संगठनका जिल्ला अध्यक्ष सहित केन्द्रीय सदस्य मदनगोपाल सुब्बाले संयुक्त रुपमा बुझाएका थिए। कार्यक्रममा जिल्ला उपाध्यक्ष देवी प्रसाद संग्रौला, प्रदेश उपाध्यक्ष बल बहादुर श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष सन्त बहादुर आले सहितको उपस्थिति रहेको थियो ।



