खबर

मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने

काठमाडौं ।

मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ। जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो।

जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेन्द्रचन्द लालले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गरेका हुन्। तीन दलले वर्तमान परिस्थितिमा छलफल तथा सहकार्यका लागि सातबुँदे सहमति गरेका छन्।

“वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै समस्याको दीर्घकालीन समाधानका लागि प्रयत्नशील रहने प्रणका साथ तीन पार्टी छलफल तथा सहकार्य गर्न सहमत भएका छौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ।

मधेस केन्द्रित तीन दलको सहमतिअनुसार नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने, तराई मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति, विद्यमान सबै प्रकारका विभदे अन्त्य गर्ने भनिएको छ।

त्यस्तै, उत्पादनमुखी अर्थतन्त्र स्थापित गर्न राष्ट्रिय पूँजी निर्माण गर्ने, कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील हुने, उद्योग कलकारखाना स्थापना गरी रोजगारी सृजना गर्ने र गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने सहमति भएको छ।

विज्ञप्तिमा अन्य दललाई पनि सहकार्यको अभियानमा सरिक हुन अनुरोध गरिएको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button