मूल खबरहेड लाइन

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस नेता सिटौलाको चेतावनी

‘गिरिजाप्रसाद र मलाई दिएको धोकाधडी यत्तिमै टुंगिँदैन’

अनिल क्षेत्री

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस र आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आक्रोश पोख्नुभएको छ । राष्ट्रियसभा अध्यक्ष पदका लागि हुने निर्वाचन नजिकिएका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेतासमेत रहनुभएका सिटौलासहित नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर धोकाधडीको राजनीतिक सजिलै नटुंगिने चेतावनी दिनुभएको हो । आइतबार बिहान पार्टी महामन्त्री गगनकुमार थापा, पार्टीका संसदीय दल प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर प्रचण्डसँग भेट गर्नुभएका सिटौलाले ‘यो धोकाधडी त्यसै नटुंगिने’ भन्दै प्रचण्डलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिनुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग सिटौला, महामन्त्री थापा र प्रमुख सचेतक लेखकले करिब आधा घण्टा छलफल गर्नुभएको थियो ।

सुरुमा महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई ‘प्रधानमन्त्रीलाई भेट्नभन्दा पनि अस्तिसम्म गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्षलाई भेट्न आएको’ भन्नुभएको थियो । सिटौलाले भने कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन माओवादीले नमानेका कुरादेखि शान्ति प्रक्रियाका विभिन्न विषयमा केन्द्रित रहेर प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्नुभयो । निकै आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएका नेता सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भन्नुभयो, ‘तपाईंले मलाई राष्ट्रियसभा अध्यक्ष बनाउँछु भन्ने वचन दिएकोले म चुनाव लडेर जितेर पनि आएँ । तपाईंले कांग्रेस पार्टीलाई त धोका दिनुभयो नै, व्यक्तिगत रूपमा पनि ममाथि धोकाधडी भयो ।’

कांग्रेसका पूर्व-महामन्त्रीसमेत रहनुभएका सिटौला यत्तिमै रोकिनुभएन । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिएको प्रसंग उठाउँदै सिटौलाले भन्नुभयो, ‘म तपाईंलाई चुनाव लड्दासम्मको गठबन्धनको नेकपा माओवादी केन्द्रको अध्यक्षको हैसियतमा भेट्न आएको हुँ । तपाईंले गिरिजा प्रसादलाई त्यसबेला दिएको धोकासँगै मलाई अहिले पार्टीगतसँगै व्यक्तिगत रूपमा दिएको धोका सम्झाउन आएको हुँ । तपाईं त्यसबेला गिरिजा बाबुलाई दिएको धोकाका कारण पश्चात्ताप गरेको नाटक गरिरहनु भएको थियो । तर, त्यो पश्चात्ताप होइन, नाटक रहेछ ।’हिमालय टाइम्समा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button