खबरहेड लाइन

कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दाबी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ ।

निक्षेप सात प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप तीन खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई खर्ब ५३ अर्ब ९७ करोड (५.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको छ ।

चालु आवको माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, २५.८ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो ।

यस्तै माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.४ प्रतिशत रहेको छ । २०७९ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो ।

कर्जा ४.१ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ । चालु आवको माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैङ्कको ३.४ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ ।

यस्तै माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ ।

गत आवको माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो । आव २०८०/८१ को सात महिनामा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशतले, नगद प्रवाह कर्जा २६.० प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ११.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ११.६ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४२.३ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनः वर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.३ प्रतिशतले घटेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button