मूल खबरहेड लाइन

सत्ता गठबन्धनबीच सात बुँदे अर्को सहमति

प्रधानमन्त्रीमा १५ महिने भागबण्डा

अनिल क्षेत्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई समेटर सत्तारूढ पाँच दलले सात बुँदे सहमति गरेका छन् । यसअघि गठबन्धनमा एकीकृत समाजवादी सहभागी नहुँदै फागुन २१ गते एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताले आठ बुँदे सहमति सार्वजनिक गरेका थिए । त्यतिबेला चार राजनीतिक दलले सरकार, राष्ट्रियसभा अध्यक्ष/उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वयनलगायत आठ बुँदे सहमति गरेका थिए । मंगलबार भने एकीकृत समाजवादी पार्टीका मुद्दासमेत सम्बोधन गरी सात बुँदे सहमति सार्वजनिक भएको हो । यसअघि र मंगलबारको सहमतिको बुँदा नम्बर ६ मा केही परिमार्जन गरिएको छ ।

मंगलबारको सहमतिको बुँदा नम्बर ६ मा भनिएको छ, ‘देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्नेगरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने।’ यसअघि फागुन २१ गते भएको सहमतिको बुँदा नम्बर ६ मा पनि उस्तै कुरा भए पनि भाषा फरक थियो । उक्त सहमतिमा भनिएको थियो, ‘सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्नेगरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने।’ मंगलबार दलहरूले संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति गरेका छन् ।

सत्ता गठबन्धनका प्रमुख दुई घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधि सभाको यही कार्यकालको १५ महिना प्रधानमन्त्री बनाउने सहमति भएको छ । मंगलबार सत्ता गठबन्धनका पाँच दलबीच सात बुँदे सहमति भएको छ । सहमति पत्रमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गर्नुभएको छ । सार्वजनिक सहमतिमा अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउने उल्लेख छैन् । तर, सत्ता गठबन्धनका नेताहरूका अनुसार अध्यक्षद्वय ओली र दाहालबीच माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको छ ।

यसअघि, अध्यक्ष माधवकुमार नेपालले फेरिएको सत्ता समीकरणलाई समर्थन गर्नुपर्दा पावर सेयरिङमा आफू एक वर्ष प्रधानमन्त्री र कुनै प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दै आउनुभएको थियो । सोमबार बसेको समाजवादीको संसदीय दलले समेत लिखित सहमति नभएसम्म प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । नेता नेपाललाई मनाउन नसकिए वर्तमान सत्ता गठबन्धन नै धरापमा पर्ने भएपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले नेता नेपाललाई प्रधानमन्त्री बनाउन मौखिक रूपमा ग्रिन सिग्नल दिएकै कारण मंगलबार सात बुँदे सहमति बनेको गठबन्धनका नेताहरूको दाबी छ । अध्यक्ष नेपालनिकट एकीकृत समाजवादीका एक नेताले मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली र नेता नेपालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रचण्ड र ओली नेपाललाई प्रधानमन्त्री बनाउन लचक बन्दै ‘ग्रिन सिग्नल’ दिएको दाबी गरेका छन् । ती नेताका अनुसार मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड, ओली र नेपाल बाँकी अवधिमा १५ महिनाका दरले आलोपालो प्रधानमन्त्री बन्नेगरी सहमति जुटेको हो । प्रतिनिधि सभाको कार्यकाल अब करिब ४५ महिना बाँकी छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माधव नेपाललाई १५ महिना प्रधानमन्त्री दिन प्रचण्ड र ओली नै तयार भएको स्वीकार गर्दै भन्नुभयो, ‘यो गठबन्धन जोगाउन र सरकारलाई सहज ढंगले अघि बढाउन एमाले तयार छ । मिल्नेसम्मका सहमतिमा विमति जनाउँदैन ।’हिमालय टाइम्समा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button