खबरहेड लाइन

नेसपा विवाद उत्कर्षमा

बाबुरामले बोलाएको बैठक महिन्द्र पक्षले बहिष्कार गर्ने

नारायण भण्डारी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)भित्र उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने विषयमा उत्पन्न विवादले पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको हो । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले चैत ४ केन्द्रीय कार्यकारिणी समिति बैठक र ५ गते केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । तर, अर्का अध्यक्ष महिन्द्र राय यादवले आफूसँग सल्लाह नै नगरी बैठक बोलाएको भन्दै विरोध गर्नुभएको हो । बिहीबार नेसपाका महासचिव रमेशप्रसाद यादवले भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको विज्ञप्ति जारी गरेर जानकारी गराउनुभएको छ ।

‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकाले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु’, विज्ञप्तिमा भनिएको छ। यता, भट्टराई पक्षले भने यादवको विज्ञप्ति पार्टीको आधिकारिक नभएको प्रतिक्रिया दिएको छ ।

यादवले माओवादीसँग एकता गर्न भट्टराईले नचाहेको आरोपसमेत लगाउनुभयो । ‘बाबुरामजीले अर्का अध्यक्ष महिन्द्रजीसँग सल्लाह नगरी एकलौटी ढंगले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव यादवले भन्नुभयो । भट्टराईले बोलाइएको बैठक स्थगित नगरे आफूहरूले बहिष्कार गर्ने उहाँले चेतावनी दिनुभयो । भट्टराई पछिल्लो समय माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट हुनुभएको छ । उहाँले आफूहरू एकताको पक्षमा भए पनि प्रचण्डले नै एकता नचाहेको आरोप लगाउनुभएको छ । विवादबीच यही माघ २० गते बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष भट्टराईले आगामी चैत ४ र ५ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउनुभएको थियो । ०७९ मंसिरमा भएको निर्वाचनमा नेसपाका उम्मेदवार माओवादीको चिहृनबाट चुनाव लड्नुभएको थियो । तर, निर्वाचित भएकाहरूलाई नेसपाकै मान्यता दिनुपर्ने माग बाबुरामको छ । तर, बुधबारको प्रतनिधिसभा बैठकमा महिन्द्र यादवले माओवादीकै सांसदका रूपमा बोल्नुभएको थियो । अहिले यही विषयले नेसपामा विवाद चर्किएको छ ।

यसअघि, पार्टीभित्रको चर्को दबाबको कारण बाबुराम माओवादीमा मिसिन आफ्नै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन तयार हुनुभएको थियो । नेसपाको निर्णयपछि माओवादीले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति गठन गरेको थियो । त्यसअघि माओवादी उपाध्यक्ष एवं वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता समिति पनि बनाएको थियो । दुवै पार्टीका अध्यक्षको नेतृत्वमा संयोजन समिति गठन भए पनि प्रचण्ड र बाबुरामको अनिच्छाको कारण अहिलेसम्म कुरा अघि बढ्न सकेको छैन ।

प्रचण्ड अहिले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमाले र नेकपा एससहितको समीकरणमा अघि बढेपछि बाबुरामसँगको दूरी थप बढेको छ । माओवादीसँगको एकतामा बाबुरामले चासो नदेखाए पनि अर्का अध्यक्ष महेन्द्रराय यादव पक्षका नेताहरू तयार छन् । प्रचण्डले पनि बाबुराम बाहेकका नेताहरूलाई पार्टीमा भित्र्याउँदा व्यवस्थापनमा सहज हुने भएकाले एकता प्रक्रियामा आलटाल गरिरहेको टिप्पणी पनि भइरहेको छ ।हिमालय टाइम्सबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button