खबरहेड लाइन

पाठ्यपुस्तक ढुवानी सुरु

काठमाडौँ । आगामी २०८१ सालको शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ कार्य सकिँदै छ।

अहिलेकै गतिमा पुस्तक छपाइ कार्य जारी रहेमा सामुदायिक विद्यालयका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने छन् । देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने छ । कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ ।

आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले हालसम्म एक करोड ५७ लाख थान छापिसकिएको जानकारी दिनुभयो । कक्षा ५ को पुस्तक मात्रै छाप्न बाँकी छ । कक्षा ५ मा छाप्नुपर्ने कुल २४ लाख थान पाठ्यपुस्तकमध्ये छ लाख थान छापिसकिएको छ । उहाँले बाँकी १८ लाख थान पाठ्यपुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने दाबी गर्नुभयो । पाठ्यपुस्तक छपाइको अवस्थाबारे जानकारी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुग्नुभएको थियो । उहाँले विद्यार्थीले भर्ना भएकै दिन हातहातमा पाठ्यपुस्तक पाउने गरी काम गर्न निर्देशन दिनुभएको थियो ।

जनक शिक्षालाई चालु शैक्षिक सत्रका लागि कक्षा ६ देखि १२ सम्मको मात्रै पुस्तक छाप्ने अनुमति दिएको थियो । तर समयमै पुस्तक छापेर शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीको हात हातमा पु¥याउन सफल भएपछि आगामी वर्षका लागि कक्षा ५ देखिकै पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको हो । जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले आगामी शैक्षिक सत्रमा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नदिने र यस वर्ष जस्तै सेटमै पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाठ्यपुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन चौबिसै घण्टा जारी राखिएको छ । जनक शिक्षाले पुस्तक वितरणमा पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा तथा उपत्यकालाई दिएको छ ।

केन्द्रीय कार्यालयबाहेक उपत्यकाबाहिरका नौ वटा बिक्री केन्द्रबाट पुस्तक वितरण गरिने जनक शिक्षाले जनाएको छ । उहाँले भन्नुभयो, “हामीले अहिले दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ । छपाइ सकिएका पुस्तक सातै वटा प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पु¥याउने काम पनि सँगसँगै भइरहेको छ । गत वर्ष जस्तै यस वर्ष पनि चैतमै पुस्तक वितरणको काम सुरु गर्छौं ।”

सरकारले कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी नौ वटा निजी मुद्रण संस्थालाई दिएको छ । उनीहरूले पनि पुस्तक छपाइ कार्यलाई तीव्रता दिइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालका अनुसार कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि ८४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । तीमध्ये पाँच लाख थान पुस्तक यसअघि जनक शिक्षाले नै छापिसकेको छ । केन्द्रले कक्षा ५ को पाठ्यपुस्तकको पनि जिम्मेवारी जनक शिक्षालाई यस वर्ष दिएकाले प्रिन्ट रेडी कपी (पिआरसी) भर्खरै जनक शिक्षालाई उपलब्ध गराएको छ । यसले गर्दा सो कक्षाको सम्पूर्ण पाठ्यपुस्तक छपाइ सक्न केही ढिला हुने बताइएको छ ।

उहाँले भन्नुभयो, “फागुन अन्तिम सातासम्म तथ्याङ्क माग्दा ६० लाख थान पाठ्यपुस्तक छापिसकिएको थियो । बाँकी पुस्तक केही दिनमा छापिसकिन्छ । आगामी शैक्षिक सत्र सुरु हुने समयमा पाठ्यपुस्तकमा समस्या पर्दैन ।”गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button