मूल खबर

बैंकिङ क्षेत्रप्रति अनास्था नफैलाउन अर्थमन्त्रीको चेतावनी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति नरोकिए सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा शनिबार राजधानीमा आयोजित व्यवस्थापन सम्मेलन अर्थात् म्यानेजमेन्ट समिट २०२४ को उद्घाटन गर्दै उहाँले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स र निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

मन्त्री पुनले भन्नुभयो, ‘बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने अनि ऋण तिर्दिन भनेर हिँड्ने प्रवृत्ति छ, आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैंकिङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कदापि स्वीकार्य हुन सक्दैन ।’ उहाँले नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको र बैंक जत्तिको व्यवस्थितरूपमा सञ्चालित कुनै पनि संस्था नरहेको जिकिर गर्नुभयो । मन्त्री पुनले भन्नुभयो, ‘यो हामीले भनेको होइन । अन्तर्राष्ट्रिय संस्थाहरूले अध्ययन गरेर निकालेको निष्कर्ष हो । आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनुपर्ने अवस्था छैन ।’

एउटा बैंकर्सले गल्ती गर्दा सबै बैंकर्सलाई आरोपित गर्न नमिल्ने भन्दै उहाँले एउटा व्यक्तिले गल्ती गर्दा परिवार र संस्थालाई दोषी करार गर्ने प्रवृत्ति देखिएको बताउनुभयो । मन्त्री पुनले भन्नुभयो ‘बैंक, निजी क्षेत्र वा नियामक निकायमा काम गर्ने व्यक्तिका कमजोरी हुन सक्छन् । तर, सम्बन्धित क्षेत्रमा काम गर्ने सबैलाई आरोपित गर्न मिल्दैन ।’

देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने, महत्वाकांक्षा र स्वार्थ सिद्धिका लागि सानातिना कमजोरी खोजेर व्यवस्था, प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने प्रवृत्ति निरुत्साहित गरिने उहाँले बताउनुभयो ।

हाल अर्थतन्त्रमा शिथिलता देखिए पनि साह्रै कमजोर अवस्थामा भने नरहेको भन्दै अर्थमन्त्री पुनले सार्वजनिक वित्तको क्षेत्रमा केही काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । लक्ष्यअनुसार राजस्व संकलन र विकास बजेट खर्चलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने पनि उहाँले बताउनुभयो । निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी करिब ४० अर्बको दायित्व चाँडै भुक्तानी गरिने उहाँले जानकारी गराउनुभयो । अर्थमन्त्री पुनले भन्नुभयो, ‘म आउनेबित्तिकै करिब ३० अर्ब रुपैयाँ जति बजारमा जाने गरी निर्णय गरेको छु ।’ सरकारको वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्यता हुन नसकेको विषयमा गभर्नरलाई मात्र दोष लगाउने नभई राष्ट्र बैंकको सञ्चालक समिति पनि उत्तिकै जिम्मेवार हुने उहाँको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रबाट भइरहेको लगानी उत्पादनशील क्षेत्रमा र मुलुकको अर्थतन्त्रलाई योगदान गर्ने क्षेत्रमा जानुपर्ने गरी वित्तीय र मौद्रिक नीति अवलम्बन गरिएको बताउनुभयो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई समस्या पर्ने गरी विभिन्न क्षेत्रबाट भइरहेका आक्रमणलाई निस्तेज पार्न बैंकिङ क्षेत्रले थप इमानदार र जिम्मेवार भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । गभर्नर अधिकारीले बैंकरलाई भन्नुभयो, ‘तपाईंहरूले ग्राहकको विश्वास आर्जन गर्ने गरी काम गर्नुहोस्, घुस नदिइकन ऋण पाइँदैन, मध्यस्थता नभइकन ऋण पाइँदैन भनेर आरोप लाग्ने गरेको छ । यस्ता आरोप थप सुन्नुनपरोस् ।’

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रले विभिन्न खालका चुनौतीको सामना गर्नुपरेको भन्दै नेपालको बैंकिङ क्षेत्र निकै राम्रो अवस्थामा रहेको दाबी गर्नुभयो । मुलुकको आर्थिक विकासका लागि सहयोग गर्न सक्ने महत्वपूर्ण क्षेत्रका रूपमा बैंकिङ क्षेत्र स्थापित भइसकेको उहाँको दाबी थियो । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकामा पूर्वाधार विकासका लागि पर्याप्त लगानी आवश्यक पर्ने भन्दै केसीले आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनमार्फत् पनि विभिन्न क्षेत्रमा लगानीका क्षेत्र पहिचान हुनेमा बैंकिङ क्षेत्र आशावादी रहेको बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यस सम्मेलनबाट वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याबारे छलफल गर्ने र विज्ञबाट सुझाव लिने अपेक्षा रहेको बताउनुभयो । बैंकले प्रादेशिकरूपमा कन्फ्रेन्स आयोजना गर्दै आए पनि राष्ट्रियरूपमा पहिलोपटक आयोजना गरिएको उहाँले जानकारी गराउनुभयो । सम्मेलनमा वाणिज्य बैंकका देशभरका सबै शाखा कार्यालयका प्रमुख, प्रादेशिक शाखा प्रमुख, केन्द्रीय कार्यालयका उच्च व्यवस्थापन सहभागी थिए ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button