मूल खबर

रुसी सेनाबाट भागेर स्वदेश फिर्ती भएका सिंह भन्छन् : सँगैका १० साथी युद्धभूमिमै ढले

कञ्चनपुर ।

रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन्। रुसी सेनाबाट भागेर उनी शुनी भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन्।

“पछिल्लो तीन महिनादेखि तलब पाइएन। खाना नपाएर साह्रै गाह्रो भयो। रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे,” उनले भने, “त्यसपछि भागेर हिँडे।”

उनी रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थिए । उनी अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भएका थिए। परिवारका जेठा छोरा उनी ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए। तर, घर फर्किंदा रित्तो हात हुनुपरेको छ।

“घरमा ३० लाख रुपैयाँ ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने २०/३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो,” उनले भने, “परिवारको बाध्यताले युद्धको भुमरीमा हाम फालेँ तर सोचेकोजस्तो भएन।”

सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनको भनाइ छ।

उनका अनुसार घर धितो राखेर सात लाख ५० हजार रुपैयाँ ऋण निकालेर रुस हानिएका हुन्। सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनी बताउँछन्।

“त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ,” उनी भन्छन्, “दैनिक ५०/६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे।”

मासिक अढाइ लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ। केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश पुगेका हुन् । मस्कोमा एक दलाललाई दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उनी बताउँछन्।

“तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो,” सिंह भन्छन्, “तर विमानमा दिल्ली आउँदा एक्लै थिएँ । पछि बुझ्दा एक जनालाई अध्यागमले समातेको रहेछ।”रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनको भनाइ छ।न्यूज अफ नेपाल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button