हेड लाइन

पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । भ्लादिमिर पुटिन लगातार पाँचौँ पटक रुसको राष्ट्रपति बन्नुभएको छ । मार्च १५–१७ मा भएको मतदानमा पुटिनले झण्डै ८८ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले चार प्रतिशत मत पाउनुभयो भने भ्लादिस्लाव दाभान्कोभ र लियोनिद स्लुत्स्की तेस्रो र चौथो स्थानमा रहनुभयो । नतिजा सार्वजनिक भएपछि पुटिनले अब रुस झन् शक्तिशाली र प्रभावशाली हुने टिप्पणी गर्नुभएको छ । निर्वाचनअघि नै पुटिन विजयी हुने अनुमान गरिएको थियो ।

सरकारी समाचार एजेन्सी आरआइएका अनुसार आधिकारिक निर्वाचन आँकडाले ९९ प्रतिशतभन्दा बढी मतदान केन्द्रले दिएको परिणाममा पुटिनले ८७ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।अब उहाँले नयाँ ६ वर्षे कार्यकाल थाल्नु हुनेछ । पूर्व लेफ्टिनेन्ट कर्णेल पुटिन सन् १९९९ मा पहिलोपटक सत्तामा आउनुभएको थियो । नयाँ कार्यकाल थाल्ने तयारीमा रहनुभएका पुटिनले युक्रेनमा रुसी सेना पठाउने आफ्नो निर्णय सही भएको दाबी गर्नुभएको छ । साढे ११ करोड मतदाता रहेको रुसमा ६७ प्रतिशत बढी मत खसेको थियो ।

पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम) पोलस्टरद्वारा गरिएको एक्जिट पोलका अनुसार पुटिनले ८७ दशमलव आठ प्रतिशत भोट जित्नुभएको छ, जुन रुसको सोभियत संघको इतिहासमा अहिलेसम्मकै उच्च परिणाम हो । तर, पश्चिमा मुलुकहरूले भने निर्वाचनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन् ।

रुसी संविधानमा कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने व्यवस्था रहेको थियो । तर, उहाँले संविधान संशोधन गरेर अब २०३६ सम्म आफू राष्ट्रपति बन्नसक्ने व्यवस्था गर्नुभएको छ भने राष्ट्रपतिको कार्यकाल चारबाट ६ वर्षमा बढाउनसमेत संविधान संशोधन गरिएको छ ।

जनवरी २०२० मा पुटिनले संवैधानिक संशोधनमार्फत दुई कार्यकालको राष्ट्रपतिको सीमा समाप्त गर्नुभएको थियो । यसलाई सही प्रमाणित गर्न पुटिनले जनमतसंग्रह नै गराउनुभएको थियो । योसँगै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ ।

अमेरिका, जर्मनी, बेलायतलगायत मुलुकले विपक्षीलाई नियन्त्रण र कैदमा राखेर गराइएको मतदान स्वतन्त्र र निष्पक्ष नभएको दाबी गरेका छन् । आफ्ना प्रमुख विरोधी एलेक्सी नाभाल्नीको जेलमै रहस्यमय मृत्यु भएको एक महिनापछि पुटिनले देशमा निर्वाचन गराउनुभएको हो । मतदानकै क्रममा नाभाल्नीका समर्थकले विभिन्न ठाउँमा सांकेतिक विरोध गरेका थिए । निर्वाचनमा पुटिनबाहेक अरू तीन कमजोर उम्मेदवार उठाइएको थियो । उनीहरू क्रेमलिनको अनुकूल रहेको र डमी उम्मेदवारका रूपमा रहेको रुसका विपक्षीको आरोप छ । कुनै पनि वास्तविक प्रतिस्पर्धाको सामना गर्नु नपरेको राष्ट्रपति निर्वाचनमा यो उहाँको रेकर्ड जित हो ।हिमालय टाइम्स

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button