हेड लाइन

संरक्षित क्षेत्रभित्रै वन्यजन्तु असुरक्षित

ललित बसे

सुर्खेत । नेपालकै पहिलो संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रभित्र वन्यजन्तु भने असुरक्षित छन् । वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीमा रहेको सो क्षेत्रमा महिनैपिच्छे संरक्षित जनावर जरायो मर्ने गरेका छन् । जसका कारण संरक्षित वनमा वन्यजन्तु असुरक्षित बनेका हुन् ।

स्थानीयका अनुसार गत वैशाखदेखि यो चैतसम्म करिब ५० वटा जरायो मरेको अवस्थामा फेला परेका छन् । तीमध्ये केही कुकुरले लखेटेर, खाडलमा डुबेर र धेरैजसो पासोमा पारेर वा चोरी सिकारीले बन्दुक हानेर मारिएका छन् । लाटीकोइलीका स्थानीय सुदीपविक्रम जिसीले यसरी मारिँदा अहिले काक्रेविहारमा जरायोको सङ्ख्या घट्दै गएको छ ।

काँक्रेविहारभित्र वनभोज खानेको भिड, बाजा र डिजेको चर्को आवाजले पनि शान्ति खोज्ने जरायो बाहिरिन थालेका छन् । त्यसका साथै जरायोले मन पराउने घाँस र पानीको अभावले गर्दा पनि बाहिर निस्किएका बेला मार्ने, खाल्डोमा डुब्ने गरेको पाइएको जिसीले बताउनुभयो । उहाँका अनुसार महिनामा कम्तीमा चार/पाँच वटा जरायो मर्ने गरेका छन् । गत माघ र फागुनमा मात्रै आठ वटा जरायो मृत फेला पारेको उहाँले जनाउनुभयो ।

विगतमा ७० वटासम्म रहेको भनिएका जरायो अहिले बढीमा २५/३० वटासम्म रहेको हुन सक्ने अनुमान गरिएको छ । जरायो प्रायः साँझको सुनसान अवस्थामा चर्न निस्कन्छन् । काँक्रेविहार जङ्गलभित्र घाँस खान नपाउने, पानीको अभाव र वनभोज खानेको भिडले हो हल्ला हुँदा जरायो बाहिर गएको मौकामा चोरी सिकारीले मार्न लखेट्ने र भाग्दा खाडलमा डुब्ने स्थानीय बताउँछन् ।

यस अवस्थामा जरायो संरक्षण गर्न काँक्रेविहारभित्र वनभोज खान रोक लगाउनुपर्ने र वन्यजन्तुका लागि पानीको व्यवस्था गर्नुपर्ने जिसीको भनाइ छ । वनभोज खान रोक लगाउन र पानीपोखरी पनि निर्माण गर्न डिभिजन वन कार्यालयलाई बारम्बार आग्रह पनि गरिएको छ । यद्यपि अग्लो डाँडामा भएकाले पानी जम्मा हुन नसकेको बताइएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतले जरायोका लागि पानीपोखरी निर्माण गर्ने तयारी भइरहेको जनाएको छ । विगतमा बनाएका पोखरीमा पानी जम्न नसक्दा समस्या आएकाले अहिले पानी अडिन सक्ने खालको बनाइने डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले बताउनुभयो । उहाँले आफू सरुवा भएर आएको करिब दुई महिना भएको र यसबिचमा तीन वटा जरायो मृत फेला परेको जानकारी दिनुभयो ।

संरक्षण हुन नसक्दा जरायो लोप हुने अवस्थामा पुगेको भन्दै उहाँले काँक्रेविहारभित्र वनभोज खाने, बढी भिडभाड हुने काममा पनि रोक लगाउन आवश्यक रहेको जनाउनुभयो । जरायोलाई शान्त वातावरण मन पर्ने तर अहिले त्यहाँ बढी भिडभाड हुने हुँदा तिनीहरू बाहिर निस्कँदा मारिन पुगेको डिभिजन वन प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले पनि काँक्रेविहारमा अहिले झन्डै २५/३० वटा जति जरायो हुन सक्ने अनुमान गर्नुभयो ।

यस्तै स्थानीय अभियन्ताले पनि केही समयअघि काँक्रेविहार संरक्षित वनमा वनभोज खान रोक लगाउन मागसहित डिभिजन वन कार्यालयमा निवेदन दिएका थिए । गत पुसको अन्तिम सातातिर सामाजिक अभियन्ता नवराज बोहोरा ‘भेडा’ ले जरायोलगायतका वन्यजन्तुको बासस्थान, प्रजनन स्थल संरक्षणका लागि काँक्रेविहार क्षेत्रभित्र वनभोज, मानिसको ठुलो जमातमा हुने जमघट, ठुलो आवाज निकाल्ने स्पिकर तथा बाजा बजाउन पूर्ण रूपमा रोक लगाउन भन्दै निवेदन दिनुभएको थियो तर अहिलेसम्म उक्त कार्यमा रोक लगाइएको छैन ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button