मूल खबर

आज र भोलि होली मनाइँदै

काठमाडौं ।

आज आइतबार पहाडी जिल्लाहरूमा र भोलि सोमबार तराईका जिल्लाहरूमा रङहरूको पर्व होली अर्थात् फागु परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै छ ।

असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा यो पर्व मनाइने गरिन्छ। फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ। नेपालका हिमाली एवं पहाडी जिल्लामा आज होली मनाइने भए पनि तराई–मधेसका जिल्लाहरूमा भने भोलि सोमबार भव्यताका साथ मनाइन्छ।

होलीको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाका चोक–चोक तथा गल्लीमा होलीका सामग्रीले भरिभराउ छन्। बालकदेखि वृद्धासम्मलाई होलीको उमङ्गले एक दिनअघि नै छोइसकेको छ। धार्मिक तथा सांस्कृतिक सद्भावसँग जोडिएको होली पर्वले वैमनस्यता, रिस, राग तथा मनमुटावलाई पनि तोड्ने काम गर्दछ।

मुख्य गरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ। उपत्यकाको मुख्य केन्द्र वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाडौंमा होली शुरू भएको मानिने जानकारहरू बताउँछन्।

त्यस दिनदेखि उपत्यकामा पूर्णिमासम्म होली मनाउने चलन रहेको संस्कृतिविद्हरूको भनाइ छ। यो वर्ष पनि यही चैत्र ४ गते वसन्तपुरमा चीर ठड्याएको थियो । पूर्णिमाका दिन उक्त चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने चलन छ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरेर लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइने संस्कृतिविद्हरू बताउँछन्।

त्यस्तै, पूर्णिमाकै दिन टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चढाउने चलन रहेको छ।

होलीको किंवदन्ती

फागु पूर्णिमाको चलन चल्नुमा होलिकासँग जोडिएको किंवदन्ती प्रख्यात छ। उक्त किंवदन्तीअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रम्हमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए। तर प्रह्लादलाई केही नभएको होलीका जलेको कथामा उल्लेख छ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। द्वापरयुगमा कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको कथासँग पनि होली जोडिने बताइन्छ।

उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको संस्कृतिविद्हरूको भनाइ रहेको छ।

सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह

काठमाडौं उपत्यकाको तीनवटै जिल्लाको प्रहरी प्रशासनले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ। सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रशासनले आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ।

‘होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगरौं । अपरिचित समूहमा होली नखेलौं । कसैको इच्छाविपरीत र लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, केमिकल रङको प्रयोग नगरौं’ –जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले भन्नुभयो ।

महँगो गरगहना लगाएर होली नखेल्न पनि प्रहरीको अनुरोध छ। अपरिचित मानिसले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरले अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दुव्र्यवहार नगर्न अनुरोध गरेको छ।नियमविपरीत कार्य गर्ने व्यक्तिलाई कानुनबमोजिम सजाय तथा जरिवाना हुने पनि प्रहरीले जनाएको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button