
काठमाडाैं । अर्थसचिव डा. कृष्णहरि पुष्करले आगामी आर्थिक वर्षको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटिको अन्त्य हुने बताउनुभएको छ । सिंहदरबारमा बसेको संघीयता प्रबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले यस वर्ष बजेट निर्माण प्रक्रिया विगतको तुलनामा पूरा परिवर्तन भएको बताउनुभयो । उहाँले शक्ति र पहुँचको आधारमा बजेट विनियोजन हुने काम यस वर्षबाट पूर्ण रुपमा बन्द हुने प्रतिवद्धता जनाउनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि जुनसुकै योजना, परियोजनामा बजेट छुट्याउँदा सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने प्राविधिक कुराहरु पूरा गरेको हुनुपर्ने र प्रोजेक्ट बैंक तथा योजना आयोगमामा रहेको एमटिइएफ सिस्टममार्फत भएर आएका योजनाहरु मात्रै समावेश गरिने बताउनुभयो ।
उहाँले अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भित्र योजना बनाउन आग्रह गरेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट देखिएका आर्थिक शिथिलताको अन्त्य गर्ने, वित्तीय संस्थानहरुको विसंगतिहरुलाई पनि मुक्त बनाउने, संघीयता कार्यान्वयन र सार्वजनिक संरचनालाई सबलीकरण गर्ने, संघीयताप्रतिको जनताको आश र भरोसा जगाउने गरी निर्माण हुने बताउनुभयो ।
सचिव पुष्करले समन्यायिक र समपूरुक रकम बढाउने र सशर्त अनुदान घटाउँदै लैजाने कुरामा सरकार अघि बढिरहेको बताउनुभयो।जनता समाचार



