हेड लाइन

कांग्रेस–एमालेबीच गठबन्धनको प्रयत्नमा नेताहरू

नयाँ समीकरणको खेल

जीवन शर्मा

प्रतिनिधिसभाको निर्वाचनमा दलहरूले प्राप्त अस्थिर जनमत र गठबन्धन गरेर चुनावी मोर्चाबन्दी गरेका दलहरूले गरेको नागरिकप्रतिको बेइमानीका कारण संसद्मा सहभागी दलहरू सत्ता र गठबन्धन जोड घटाउमै रुमल्लिएका छन् । सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको पुरानो गठबन्धन तोडेर एमालेसहितको नयाँ समीकरण बनाएको एक महिना नपुग्दै गठबन्धन परिवर्तनको अर्को खेल शुरू हुन थालेको हो ।

पाँचदलीय नयाँ सत्ता सहयात्रीबीच समेत कुरा नमिलिरहेको अवस्थामा नेपाली कांग्रेसका शीर्ष नेताहरू एमालेसँग सहकार्यको हात अघि बढाउने प्रयत्नमा लागेका छन् । वर्तमान सत्ता गठबन्धनले राजनीतिक स्थिरता दिन नसक्ने भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताउनुभयो । नेता कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको छ । यो गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना छैन । विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको हो ।’देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको उहाँको भनाइ छ । ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । अहिलेको गठबन्धनले देशको आर्थिक विकास हुने सम्भावना छैन । राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा हरेक प्रदेशमा आइसकेको छ ।

हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अफ्ठ्यारो हुन्छ’, कोइरालाले भन्नुभयो– ‘स्टेबल गभर्मेन्ट दिन जरुरी छ । पहिलो संविधानसभाका बेला चार जना प्रधानमन्त्री कम्युनिस्टबाटै बन्नुभयो, तर संविधान बनेन । संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो । देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ ।’

कोइरालाले यसअघि पनि वर्तमान सरकार लामो समय नरहने जिकिर गर्दै नेपाली कांग्रेस चाँडै सत्तामा आउने ठोकुवा गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्रै सत्ता उलटपुलट गरेर विश्वासको मतमा ह्याट्रिक गर्नुभएको छ । उहाँले गत फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जनता पार्टी, नेकपा एस र जनमतलाई लिएर विश्वासको मत लिनुभएको थियो । त्यसयता प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले सत्ता सहकार्यमा एमालेसँगको प्रयासलाई पूर्णता दिने गरी लागेको कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।नेपाल समाचारपत्र

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button