मूल खबर

चौथो संस्करणको सफा हिमाल अभियान : दश टन फोहोर संकलन गर्ने लक्ष्य

काठमाडाैं । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गरी शुरु हुने बताउनुभयो । उहाँले अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताउनुभयो । उहाँकाअनुसार संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ ।

उहाँले यस अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट दश टन फोहोर तथा पाँच वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले नेपालका हिमाली क्षेत्रको वातावरणीय स्वच्छतालाई कायम राख्न अपरिहार्य रहेको बताउनुभयो । उहाँले वातावरण र विकासबीच सामञ्जस्यता कायम गर्न वास्तविकता हामीले मनन गर्दै सफाइ अभियान सञ्चालन गर्नु भन्दा अनावश्यक फोहोर नै हुन नदिने किसिमको संस्कारको विकास गर्नेतर्फ अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

उहाँले वन तथा वातावरण मन्त्रालय, हिमाल रेूक्यु असोसिएशन नेपाल, पर्यटन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय रेस्क्यु असोसिएशन नेपाल, नेपाल माउण्टेरिङ असोसिएशन, सगरमाथा प्रदुषण नियन्त्रण समिति, आरोहण तथा पर्यनसँग सम्बन्धित विभिन्न संघसंस्था एवं हिमाल सफाई जस्तो विशुद्ध सामाजिक दायित्वमा अभिरुची राख्ने विभिन्न गैरसरकारी संस्थाहरुसँग आपसी समन्वय, सहयोगबाट अघि बढ्ने लक्ष्य लिएको बताउनुभयो ।जनता समाचार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button