
डिबी शर्मा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मंगलबार) काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने भएको छ । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको राप्रपाले झण्डै डेढ महिनापछि काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागेको हो । जनसहभागिता र जनपरिचालनका लागि राप्रपाले काठमाडौं, ललितपुर र भक्तपुरमा दिनहुँजसो बैठक, घरदैलो र छलफलहरू गरेको थियो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार उपत्यकाका १८ नगरपालिकामा आन्दोलन कमाण्डर तोकिएका थिए । वडामा समिति गठन गरिएको छ । राप्रपाले आफ्ना विभिन्न संगठन, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरेको छ ।
काठमाडौंको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाको तयारी छ । ‘हामीले गत फागुन ९ गते नै जनजीविकासँग सम्बन्धित विभिन्न ४० बुँदे माग राखेका थियौँ । त्यो माग पूरा गराउन आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै छौँ । जनदबाब बढाउन हुने आन्दोलनको तयारी पूरा भएको छ,’ प्रवक्ता श्रेष्ठले हिमालय टाइम्ससँग भन्नुभयो, ‘काठमाडौंसहित देशभर सानाठूला सभा गर्दै छौँ । काठमाडौंलगायत आसपासमा जनपरिचालनमा मिहिनेत गरेका छौँ । जनतालाई जागरूक बनाउन लागेका छौँ । काठमाडौंका १८ नगरपालिकामा कमाण्डर तोकेका छाँै । वडा तहमा जनपरिचालन भइराखेको छ ।
काठमाडौं बाहिरबाट पनि मान्छेहरू आइरहनुभएको छ । साढे ११ बजे भृकृटीमण्डपबाट शहरका विभिन्न भाग हुँदै कुनै ठाउँमा सभा गर्छौं ।’ राप्रपाले जनप्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरबाट पनि मानिसहरू ओसारेको छ । कम्तीमा ५० हजार मानिसहरू काठमाडौंका सडकमा उतार्ने राप्रपाले तयारी गरेको छ ।हिमालय टाइम्सबाट ।



