मूल खबरहेड लाइन

वैदेशिक रोजगारी एक वर्ष : सात लाखभन्दा बढीले श्रम स्वीकृति लिए

सीता शर्मा

काठमाडौँ । पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

त्यसो त अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो । जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए । यो तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या बढेको पुष्टि हुन्छ । विभागका अनुसार यो वर्षको सो अवधिमा सबैभन्दा धेरै चैत महिनामा ७० हजार ९३३ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन् । यस्तै जेठ महिनामा ५९ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका छन् भने असारमा ५५ हजार २९९ जना, साउनमा ५५ हजार ५७५ जना गएको विभागको प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार भदौमा ५० हजार ८८४ जनाले विदेश जान श्रम स्वीकृति लिएकोमा असोज महिनामा ५६ हजार २३५ श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसरी नै मङ्सिरमा ६८ हजार २०१ जना, पुस महिनामा ६५ हजार ८१३ जना, माघ महिनामा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

युएई पहिलो श्रम गन्तव्य

२०८० सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार सो अवधिमा सात लाख ११ हजार ३५१ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि लागि एक लाख ६३ हजार ७६८ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । विसं २०७९ मा नेपाली श्रमिकको चौथो श्रम गन्तव्य देशका रूपमा रहेको कतार यो वर्षको तथ्याङ्क हेर्दा दोस्रो स्थानमा छ । अघिल्लो वर्ष नेपालीको पहिलो श्रम गन्तव्य देश भएको मलेसिया यो वर्षमा भने चौथो स्थानमा छ। यस्तै गत वर्ष सो अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश रहेको साउदी अरब यो पटक भने तेस्रो स्थानमा रहेको छ ।

विभागका अनुसार यो वर्ष कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दा माथि नाघेको छ । कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या नबढेको हो । गएको चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेसिएका छन् ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य देश बन्न सफल भएको उहाँको भनाइ छ । महानिर्देशक घिमिरेले पछिल्लो वर्ष मलेसियाका रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकका लागि नयाँ लिने कार्य बन्द गरेकाले पनि पछिल्लो पटक मलेसिया जानेको सङ्ख्या घटेको बताउनुभयो ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको आठ महिना (फागुन महिना) सम्म नौ अर्ब ६१ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । गत वर्ष सो अवधिमा सात अर्ब ९४ अर्ब रुपियाँ विप्रेषण भित्रिएको थियो । विप्रेषण भित्रिने दरमा २१ प्रतिशतले वृद्धि भएको हो । यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ । यो वर्षको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button