मूल खबरहेडलाईन

नेपाल सुरुङ युगमा प्रवेश

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग छिचोलियो

काठमाडौं ।

नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग वारपार छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सुरङमार्गभित्र विद्युतीय स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभयो।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ। बलम्बुदेखि सिस्नेखोलासम्म अहिले सडकको दूरी ८ किमि छ । सुरुङमार्ग बनेपछि सिस्नेखोला–बलम्बु दूरी ५ किलोमिटर हुन्छ।

यसअघि सुरुङमार्ग दुई मिटर खन्न बाँकी थियो । सोमबार दुई मिटर सुरुङ खनेर वारपार छिचोलिएको थियो। एक वर्षअघि फागुन महिनाभित्रै सुरुङ खनिसक्ने योजना बनाएको भए पनि स्थानीयले विभिन्न माग राखेर अवरोध गरेपछि वारपार छिचोलिने समय दुई महिना पर धकेलिएको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

सुुरुङमार्ग छिचोलिए पनि मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो। आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ। मुख्य सुरुङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ। जसमा दायाँबायाँ साढे तीन/तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ। बीचको तीन मिटर दुवैतर्फका सवारी साधनले प्रयोग गर्न सक्छन्।

मुख्य सुरुङसँगैको आपत्कालीन सुरुङ भने गत साउन २२ गते नै छिचोलिएको थियो । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धारलगायतका काम गर्न भन्दै आपत्कालीन सुरुङ निर्माण गरिएको हो । आपत्कालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् । आपत्कालीन सुरुङको लम्बाइ २ हजार ५ सय ५७ मिटर छ । आपत्कालीन सुरुङ मुख्य सुरुङबाट ३० मिटर फरकमा छ । आपत्कालीन सुरुङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ । यो सुरुङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ । आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरुङमा दमकल, एम्बुलेन्सजस्ता साधन गुड्न पाउँछन् ।

करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग निर्माण शुरू भएको थियो । सो सुरुङ मार्ग हाज्मा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलानलगायतका काम हुने उपनिर्देशक दुमरुले जानकारी दिनुभयो ।

सुरुङमार्गको प्रयोगपछि सिस्नेखोलादेखि नागढुंगासम्म अहिले भइरहेको दिनहुँ सवारीसाधन जाम हुने समस्या हट्ने विश्वास गरिएको छ । सुरुङमार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुने बताइएको छ ।

सुरुङ मार्ग बनिसकेपछि सबै किसिमका सवारीसाधन सो मार्गबाट गुड्न पाउने छैनन्। दुईपाङ्ग्रे (मोटरसाइकल स्कुटर) लाई सुरुङमार्गबाट आवतजावत गर्न दिइने छैन। आयोजनाका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू, ग्यास बोकेका सवारी सुरक्षाका हिसाबले सुरुङबाट जान पाउँदैनन् । यस्ता सवारीसाधन अहिलेकै सडक प्रयोग गरेर गुड्नुपर्छ।

त्यस्तै, मापदण्डभन्दा बढी ठूलो आकार बनाएर सामग्री बोकेका मालबाहक ट्रकहरू पनि सुरुङ मार्ग प्रयोग गर्न पाउँदैनन्। सुरुङबाट मापदण्डअनुसार सामग्री बोकेका मालबाहक ट्रक, एम्बुलेन्स, दमकललगायत खतरारहित सवारी साधनहरू गुड्न पाउनेछन्।न्यूज अफ नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button