खबरहेड लाइन

जन्मदर्ता नहुँदा सडक बालबालिका अनागरिक

काठमाडौँ। “मैले मेरो छोरा हो भनेर पहिचान दिएर हुन्थ्यो भने आफैँ संरक्षक बसेर सबैलाई नागरिकता बनाइदिन्थेँ । तर यो एक वा दुई जनाको मात्र विषयभन्दा पनि कानुन परिपालनाको विषय हो,” सांसद निर्मला देवकोटाले यसो भन्दै गर्नुहुँदा अर्को लहरको बिचमा बस्नुभएका १६ वर्षका याकुब विकले सांसद देवकोटाको मुखमा पुलुक्क हेर्नुभयो । “मलाई एक दिनकै लागि भए पनि छोरा बनाइदिएर, जन्मदर्ता दिए हुन्थ्यो,” भन्ने भाव उहाँको अनुहारले पोख्दै थियो ।

आमाको माया के हो भन्ने कुरा बुझ्न नपाउँदै आमा गुमाएका उहाँले देवकोटासहितको लहरमा बसेका महिला सांसदहरूमा आमाको अनुहारको झझल्कोसँगै कानुनी संरक्षकको खोजी गरिरहनुभयो । १० कक्षामा पढ्दै गरेका उहाँलाई विद्यालयले एसइईको फाराम भर्नु पर्छ, जन्मदर्ता जसरी पनि बनाउनू भनेर ताकेता गरिरहेको छ ।

दाजु सविन विकले भन्नुभयो, “भाइको जन्मदर्ता कसरी बनाउनु, बुबा सानैमा बिते, बुबाले आमाको नागरिकता बनाइदिएनन्, मावलीले बनाइदिन मान्दैनन् ।” जन्मदर्ता नहुँदा २४ वर्षको लक्का जवान भइसक्दा पनि उहाँको समेत नागरिकता बनेको छैन । सरकारले अहिले व्यक्तिगत घटना दर्ता दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ । जस अनुसार हरेक नेपाली नागरिकले जन्म, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेद र मृत्युदर्ता गर्न गराउन सचेतना फैलाउने क्रम जारी छ ।

बाबुआमा बितेपछि सडक बालकको हैसियतमा हुर्किएका दुई दाजुभाइ अहिले पनि सुकुमवासी बस्तीमा बस्छन् । जेनतेन मजदुरी गरेर पेट पाल्दै सहयोगी संस्थाको रोहबरमा भाइ पढ्दै छन् ।

आमा बितेपछि देवी राई पनि सानैदेखि सडकमा हुर्कनुभयो । सडकमै मायाप्रीति बस्यो । सडक बालकसँगै बिहे भयो । अहिले एक छोरा र एक छोरी छन् । उहाँले सुनाउनुभयो, “नानी जन्मेपछि मात्र मलाई नागरिकता र जन्मदर्ता के हो भन्ने थाहा भयो । तर कहाँबाट ल्याउने थाहा छैन । श्रीमान् पनि सडकमै हुर्केकाले नागरिकता छैन । उहाँका भाइ र बैनीको पनि छैन ।”

राजेशको पहिचान पनि सडकमै बन्यो । वसन्तपुरमा माग्ने, खाने र आफूजस्तै सडक बालबालिकासँग उहाँको बाल्यकाल बित्यो । कपाल लामो र अग्लो भएकाले साथीहरूले राजेश हमालजस्तै देखिन्छन् भन्थे । त्यसैले राजेश भनेरै बोलाउँथे । अलिक ठुलो भएपछि होटलमा काम गर्ने साहुजीले थर ठकुरी भनेर आफैँ जोडिदिए । अनि उहाँ राजेश ठकुरी हुनुभयो ।

उहाँको पनि सडकमै हुँदा प्रेम विवाह भई दुई सन्तान भए । तर नागरिकता नहुँदा भनेजस्तो काम, पहिचान पाउन सकिएन । सबैले यसको केही छैन भनेर उक्साइदिने गरेकाले झगडा बढ्यो । दुई छोरा उहाँकै साथ छाडेर श्रीमती अर्कैसँग हिँडिन् । आठ वर्षको ठुलो छोरा सडकमै जन्मे पनि सानो अस्पतालमै जन्मेको थियो । तर कागज नपाउँदा जन्म दर्ता बन्न सकेन ।

उहाँजस्तै हिन्दी फिल्मको हिरो सञ्जय दत्तको नामबाट सञ्जय राईको नाम जुर्‍यो । राई पनि उहाँको आफ्नो थर हैन । बल्खुमा उहाँलाई काम लगाएर पालेका साहुले हेर्दा मङ्गोलियनजस्तो देखेर राई भनेर राखिदिनुभएको उहाँले बताउनुभयो । साहुले संरक्षक बसेर नागरिकता बनाइदिन खोजे पनि वंशजका आधारमा मात्र दिन मिल्ने भनेर दिइएन । उहाँले भन्नुभयो, “तेक्वान्दो सिकाउँछु, पौडी राम्रो खेल्न आउँछ, नृत्य र चालकका काममा पनि पोख्त छु । तर नागरिकतै छैन । त्यसैले कुनै पनि काममा अघि बढ्न सकिनँ ।”

साथसाथै नामको संस्थाले शुक्रबार आयोजना गरेका र सांसद र सडक बालबालिकाबिचको अन्तर्क्रियामा जन्मदर्ता र नागरिकता बनाउन कानुनमा संशोधन गरेरै भए पनि न्याय दिनुपर्नेमा संस्थाकी अध्यक्ष कविता शाहले बताउनुभयो । गृह मन्त्रालयले जारी गरेको परिपत्र अनुसार एकल महिलाको हकमा भने मावलीको थरमा नागरिकता बनाउन मिल्ने भनिएको छ । तर सडक बालबालिकाको हकमा त्यसले सम्बोधन गर्न सकेको छैन ।

सांसद आश्मा चौधरी बालबालिकाको पीडा सुनेर भक्कानिनुभयो । उहाँले भन्नुभयो, “राज्य छ तर उहाँहरूका लागि नभएको देख्दा मन अमिलो भयो ।” सांसद शान्ति श्रेष्ठले आफू नहुँदो हो त आफ्ना छोराछोरी यसै गरी सडकमा पुगेर पीडामा परेको कल्पना गर्नुभयो ।

नागरिकताको हकमा उहाँहरूका लागि छुट्टै र प्रस्ट व्यवस्था हुनुपर्नेमा सांसद तथा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले जोड दिनुभयो । सांसद उमरावती देवी र पूर्वसांसद शान्ति पाख्रिनले राज्य जिम्मेवार भइदिए शक्तिमा पहुँच नभएका बालबालिकाले यसरी नागरिकता र जन्मदर्ताका लागि भौँतारिनु नपर्ने औँल्याउनुभयो ।

सन् २०१६ को सिविनको अध्ययन अनुसार नेपालमा झन्डै पाँच हजार सडक बालबालिका छन् । जनगणनाको नयाँ तथ्य अनुसार ११ लाख श्रमिक बालबालिका छन् । तिनमा सडक बालबालिकाको सङ्ख्या छुट्टयाइएको छैन । पारिवारिक हिंसा, परिवार विखण्डन, गरिबी, साथीको सङ्गत आदि कारणले बालबालिका सडकमा पुग्ने गरेका पाइन्छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button