कृषि र किसानखबर

सत्तरी करोडभन्दा बढीको जडीबुटी निकासी

सिराज खान

नेपालगन्ज। जडीबुटी निकासीको प्रमुख नाका मानिएको नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ ।

विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि नौ महिनामा ७० करोडको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको अनेकौँ कठिनाइका बाबजुद पनि व्यवसायीले नौ महिनामा ७० करोडको जडीबुटी निकासी गर्न सफल हुनु निकै सकारात्मक भएको बताउनुभयो।

उहाँले नेपाली जडीबुटीप्रति भारतको कडा रबैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षबाट पुनः उकालो लाग्ने सङ्केतहरू देखिन थालेको बताउनुभयो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट ७० करोड ६२ लाख ३५ हजार मूल्य बराबरको २८ लाख पाँच हजार ८३९ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको हो । गत आव २०७९/८० को चैत मसान्तसम्म यो नाकाबाट ७० करोड ९६ लाख १० हजार मूल्यको जडीबुटी निकासी भएको थियो ।

कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । यहाँ हुँदै भारतलगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधी, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मुलकमा पनि निर्यात भइरहेको सङ्घले जनाएको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीहरूले विदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडीबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट बेहोर्नु परेकाले समस्या हुँदै आएको जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button