मूल खबरहेड लाइन

वाम एकता बहस

एमाले अध्यक्ष ओलीको अनिच्छापछि फेरिँदै नेताहरूको बोली

अनिल क्षेत्री

काठमाडौं । वाम एकताको आधार तयार पार्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत फागुन २१ गते नेपाली कांग्रेससँगको सत्ता साझेदारी तोडेर नेकपा एमालेसँग गठबन्धन गर्न पुग्नुभयो । एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धनलाई दुवै दलका नेताहरूले मुलुकमा पुनः वाम एकताको आधार भनेर व्याख्या गरेका थिए । प्रधानमन्त्री प्रचण्डले त सार्वजनिक समारोहमै नयाँ सत्ता समीकरणलाई वाम एकताको प्रस्थान विन्दु भन्नसम्म भ्याउनुभयो । तर, नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ राजनीतिक समीकरण बनेको दुई महिना पूरा नहुँदै वाम एकताबारे नेताहरूको बोली फेरिन थालेको छ । नयाँ समीकरण निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुमा वाम एकताबारे लामो समय औपचारिक धारणा सार्वजनिक गर्नुभएन । तर, शनिबार पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष ओलीले पार्टीको औपचारिक दस्तावेजमै वामपन्थी एकता, धु्रवीकरणप्रति अनिच्छा प्रकट गर्नुभएको छ । २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन र त्यसले उत्पन्न गरेको तरंगबाट नेकपा एमाले आन्दोलन जोगाउन सफल भएको भन्दै २०७४ कै जस्तो हतारिएर एकता र धु्रवीकरणको दिशामा जानु नहुने अध्यक्ष ओलीको निष्कर्ष छ ।

पार्टीको महाविधेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले निश्चित दल, विचार या शक्तिलाई निषेध गर्नेगरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी, धु्रव अन्य कुनै नाममा गरिने धु्रवीकरण उचित, व्यावहारिक र लाभदायी नहुने भन्दै प्रतिवेदनमा भन्नुभएको छ, ‘यो सत्ता सहकार्य मुलुकका समस्या समाधानका लागि हो । सत्ता परिवर्तन या प्राप्तिका लागि मात्रै होइन। मुलुकमा गम्भीर समस्याहरू छन्, तिनको समाधानका लागि सबै राजनीतिक पार्टीहरू माझमा निरन्तर संवाद आवश्यक छ । मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ । अनि, विचार मिल्नेहरू माझ सहकार्य आवश्यक छ । त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्नेगरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी धु्रव या अन्य कुनै नाममा गरिने धु्रवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन ।’ वाम एकताप्रति एमाले अध्यक्ष ओलीको अनिच्छासँगै नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा रहेका वाम दलका नेताहरूको बोली फेरिन थालेको छ ।

नयाँ सत्ता समीकरण मुलुकमा वाम एकताको प्रस्थान बिन्दुको रूपमा अर्थ लगाउँदै आउनुभएका माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वामपन्थीबीच अहिले एकताको सम्भावना नरहेको बताउनुभएको छ । आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम सबै छन् । त्यसैले सत्ता समीकरणका रूपमा लिएका छौँ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ । त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुनसक्छ । जे भए पनि अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम, बजेट परम्परागतभन्दा फरक तरिकाले ल्याउने प्रयास गरिरहेको जानकारी दिनुभयो ।

कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन : पाण्डे
सत्तारूढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस)का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरूबीच तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ । कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने उहाँको जिकिर छ । केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको दाबी गर्दै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता गर्ने अवस्था छैन । कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा एस मात्र हो ।’हिमालय टाइम्स दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button